काठमाडौं—निजामती कर्मचारी ट्रेड युनियनले कक्षा–१२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन्।
समितिका सभापति रामहरि खतिवडाका अनुसार बैठकमा युनियनका अध्यक्ष लगायत अन्य नेताहरूले आफूहरूलाई कक्षा १२ को परीक्षामा सहभागी गराउन नमिल्ने बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान मात्रै बैठक बसेर निजामती कर्मचारीहरूलाई सहभागी भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर उनीहरू सहभागी नहुने भएका छन्।
नेपाल शिक्षक महासंघले केही बेरअघि विज्ञप्ति जारी गर्दै शिक्षकहरू उक्त परीक्षामा सहभागी नहुने जनाएको छ। सरकार र महासंघकै टसलका कारण कक्षा १२ को परीक्षा भने अन्योलमा परेको छ। परीक्षार्थी र अभिभावकहरू चिन्तित बनेका छन्। बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समय तोकेको छ।
प्रतिक्रिया