झण्डै साढे दुई शताब्दी लामो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापनाको औपचारिक बीजारोपण भएको दिन वैशाख ११ मा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले युथ सेलिब्रेसन गर्दै छ । नयाँ पुस्तालाई लोकतन्त्र र गणतन्त्रको महत्व बुझाउने भन्दै सत्ता कब्जा गरेको एमाले, सडक पनि कब्जा गर्ने तयारीमा छ ।
वीर रसले ओतप्रोत भएको यो भिडियो सन्देश सोमबार दिउँसो साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो । जसमा युवाले नै देश बनाउन सक्ने भन्दै युवामाझ जोश भर्ने काम गरेको छ । सत्तारुढ नेकपा एमालेको यही वैशाख ११ गते काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुन ४० वर्ष मुनिका युवालाई आह्वान गर्ने हेतुले प्रधानमन्त्री ओलीले यो भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।
उमेरले ७४ वर्ष लागिसकेका ओलीले पौरख र पाखुराबाट देश निर्माण गर्नका लागि आह्वान गरिरहँदा एमाले युथ सेलिब्रेसनको तयारीमा छ । जसमा एक लाख युवालाई काठमाडौंका सडकमा उतारेर शक्ति प्रदर्शनको सन्देश दिन खोजिँदै छ । पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको दिनलाई अवसर बनाएर एमालेले युथ सेलिब्रेसन गर्न लागेको हो ।
त्यसो त अहिले पनि आफ्नो माग राखेर थुपै्र प्रदर्शनकारीहरू सडकमा नै छन् । शिक्षक, राजावादी, सहकारी, मिटरब्याज तथा लघुवित्त पीडितहरू निरन्तर आफ्ना माग सम्बोधनका लागि सडक सङ्घर्षमा छन् । सरकारको नेतृत्व गरिरहेको हैसियतले सडकमा भएको मुद्दाको सम्बोधन गर्नु पर्ने दायित्व बोकेको एमाले पनि अब त्यसैको हिस्सेदार बन्दै सडकमा उत्रिँदै छ । सडकमा भएको मुद्दालाई बेवास्ता गर्दै एमाले आफैँ सडकमा आउनुमा केही खास कारणहरू छन् । राजावादीहरूको आन्दोलनामा देखिएको भिडलाई काउन्टर दिन पनि युवालाई उतारेर एमालेले आफ्नो शक्ति देखाउन खोजेको छ ।
त्यस्तै एमाले सत्तामा पुगेपछि पार्टीलाई चलायमान गर्न नसकेको आरोप खेप्दा सोही भाष्यलाई गलत सावित गर्न पनि एमालेले वैशाख ११ लाई मोहरा बनाउन खोजेको छ । सिराहामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण गरिरहेका बेला कार्यकर्ताहरुले कार्यक्रमस्थल छोडेर हिँडेको र रुपन्देहीमा पनि ओली सहभागी कार्यक्रमा उल्लेख्य कार्यकर्ताको उपस्थिति नहुँदा उनीप्रति देखिएको वितृष्णालाई चिर्न पनि पार्टीले सडकमा उत्रिन आवश्यक ठानेको छ ।
व्यवस्था विरोधी गतिविधिका कारण दबाबमा परेका ओली सत्ता गठबन्धनकै नेताहरूले समेत प्रतिपक्षीको भन्दा एक कदम अघि बढेर सरकारको आलोचना गर्दा समस्यामा छन् । यद्यपि, चौतर्फी आलोचना र दबाबका बाबजुद सत्तामा भएको एमाले सडकमा आउन लागेको छ । सत्ता कब्जा गरेर बसेको एमालेले सडक पनि कब्जा गर्न खोज्नु नैतिकहीनताको पराकाष्ठा भएको प्रतिपक्षी नेताको बुझाइ छ ।
कुनै समय यस्तो थियो, जुनबेला ओली युवाहरूको आशाको केन्द्र बनेका थिए । उनी जहाँ पुग्थे त्यहाँ ‘केपी बा वी लभ यू’को नारा लाग्नु सामान्य थियो । कुनै सभा सम्मेलन होस् वा खेलकुद मैदान दर्शकदेखि खेलाडीहरु सबै ओलीको जयजयकार गर्न कुनै सङ्कोच मान्दैन थिए । तर, अहिले समय ठ्याक्कै त्यसको विपरीत चलिरहेको छ । उनी सभा सम्मेलनमा पुग्दा मानिसहरू धमाधम भाषण नै नसुनी कार्यक्रमस्थल छाडेर हिँड्न थालेका छन् । आफैँले आयोजना गरेको खेलकुदका गतिविधिमा मैदानमै उनीविरुद्ध नारा लगाइन्छ । आफ्नो वाहवाहीमा गुञ्जिने स्वरहरू अहिले गालीमा परिणत हुँदै उनीविरुद्धको गतिविधि भइरहेका छन् । त्यसैले बा ब्राण्ड बनिसकेका ओलीको खस्कदो लोकप्रियतालाई पुनः ब्युँताउन एमाले हर प्रयास गरिरहेको छ । फलतः लोकतन्त्रको बीजारोपण भएको दिनको बहानामा युथ सेलिब्रेसन गर्न पार्टी हौसिएको छ ।
प्रतिक्रिया