Breaking

तेस्रो पटक म्याद थपका लागि मिश्रलाई अदालत पेस गरिँदै 


तीनकुनेमा राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई म्याद थपका निम्ति प्रहरीले तेस्रोपटक अदालत पेस गर्ने भएको छ ।

यसअघि दुईपटक थप गरिएको म्याद आज आइतबार सकिने भएपछि मिश्र, दुर्गा प्रसाईं लगायतलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पेस गर्न लागिएको हो ।

चैत १५ गतेकै राति पक्राउ परेका मिश्रलाई यसअघि प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक ५ दिन र दोस्रोपटक २४ चैतमा १५ दिनको म्याद पाएको थियो । 

२८ गते पक्राउ परेका प्रसाईंको समेत त्यही म्याद थपमा मिलान गरिएको थियो । उनीसँगै पक्राउ परेका सासंद धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यका कारण गएराति थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने भएको छ ।

उक्त म्याद आज सकिने भएपछि म्याद थपका लागि उनीहरूलाई अदालत पेस गर्ने तयारी भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

मिश्रसहित प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दा चलाइएको छ । संगठित मुद्दामा प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।