राजनीति

बालेनका प्रहरीको टाउको फुट्यो, डकैती शैलीमा डोजर, बालेनले मान्छे गनेनन्–कवाड व्यवसायी (भिडियो)


काठमाडौं—काठमाडौं महानगरपालिकाले फेरि पनि कबाडी सङ्कलन केन्द्रमा डोजर चलाएको छ । बिहीबार सवा ११ बजे महानगर प्रहरीले च्यासलमा रहेको कबाड सङ्कलन केन्द्रमा डोजर चलाएको हो । विगत चार वर्षदेखि सञ्चालनमा रहेको कबाड खानामा महानगरले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बन्न पुग्यो ।

ठूलो दलबलका साथ कबाडखाना भत्काउन डोजर लिएर च्यासल पुगेको महानगर प्रहरी र कवाड सञ्चालकबीच भिडन्त हुँदा केही घाइते भएका छन् भने कतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोजरमाथि ढुङ्गामुढा गरेपछि महानगर प्रहरी र कवाड व्यवसायीबीच झडप भएको हो । झडपका क्रममा महानगर प्रहरीका निरीक्षकको टाउकोमा चोट लागेको छ भने टाउकोमै चोट लागेर घाइते भएका कवाड व्यवसायी होसनारायण यादवलाई सिभिल अस्पतालमा उपचार गरिएको छ ।

कवाडी सञ्चालकसमेत रहेका सर्लाहीका ज्योतनारायण यादव र काम गर्ने १८ वर्षीय मजदुर सञ्जीव यादवलाई प्रहरी बृत्त, नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाएर हटाउनु परेको महानगर प्रहरीले बताएको छ । यसअघि पनि डोजर लगाएकै स्थानमा पुनः कवाड सञ्चालन गरेको र स्थानीयको पनि निवेदनपछि प्रक्रिया बमोजिम कवाडखाना भत्काएको महानगरको दाबी छ ।