Breaking

प्रतिगामी तत्वहरू सलबलाउन खोजे : डा. बाबुराम भट्टराई


काठमाडौं—नेपाल समाजवादी पार्टी (नयाँ शक्ति ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन् । बुधवार काठमाडौंमा नेपाली काँग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति तथा ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले लोकतन्त्र नै प्रमुख कुरा रहेको बताए ।

उनले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्दै र खराब गुणलाई त्यागेर अगाडी बढ्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न सकिने धारणा राखे । पछिल्लो समय प्रतिगामी तत्वहरू सलबलाउन खोजेको भन्दै अध्यक्ष डा. भट्टराईले राष्ट्र हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रही सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय चन्द्रप्रसाद न्यौपाने नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी रहेको बताए । उनले स्व. न्यौपानेलाई आफूले नेपाली काँग्रेसको निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायीको रुपमा चिनेको उल्लेख गरे ।