राजनीति

झनै चर्कियो तीनकुने प्रकरण : नयाँनयाँ भिडियो र तथ्य बाहिरिए


गणतान्त्रिक व्यवस्था फालेर पुरानै राजतन्त्र फर्काउने अभियान सुरु नहुँदै अलपत्र पर्ने अवस्था बनेको छ । आन्दोलनका कमान्डर तोकिएकाहरु नै नजरबन्ददेखि हिरासतमा पर्दा राजतन्त्र फर्काउने अभियानको नेतृत्व कसले गर्ने भन्ने अन्योल बढेर गएको छ ।

बिना तयारी, बिना नेतृत्व र बिना संगठन व्यवस्थानै ढाल्ने दिवासपना देखेका रावजावादीहरु तीनकुने घटना पछि आफैँ शशंकित र त्रसित बनेका छन् । फागुन २५ गते पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलमा पूर्व राजालाई भव्य स्वागत गर्न उपस्थित भिडलाई देखेर हौसिएका राजावादीहरु चैत १५ गते तीनकुनेमा भएको अराजक प्रर्दशनपछिआफैँ सेलाउँदै गएका छन् । सो घटनामा भएको अकल्पनीय क्षतिको दोषी आफूहरु नभएको भन्दै पन्छिँदै आएका राजावादीहरुलाई अन्ततः आइतवार बाहिरिएको एउटा भिडियो फुटेजले उदांगो बनाइदिएको छ । उक्त भिडियोले उनीहरुभित्र लुकेको मुखौटालाई उतारिदिएपछि राजा फर्काउने आन्दोलनको उद्देश्य घाम झै छर्लंग भएको छ ।लामो समयको अड्कलबाजीका बाबजुद सो घरमा आगो लगाउने व्यक्तिहरु राजावादी पक्षधरका युवाहरु नै भएको खुलेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको तस्बिर अंकित टिसर्ट लगाएका केही युवाहरुले सुरुमा आगो लगाएको भिडियोमा प्रस्ट देख्न सकिन्छ । जुन भिडियो पछिल्लो समय सामाजिक सन्जालमा भाइरल बनेको छ । प्रदर्शनमा उग्र बनेका ‘आन्दोलनकारीहरु’ घरभित्र पसेर तोडफोड, लुटपाटदेखि आगजनीसमेत गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

राजावादीहरुले आगो झोसेकै घरमा थिए, पत्रकार सुरेश रजक । उनले त्यहाँ भएका हरेक घटनालाई आफ्नो क्यामेरामा कैद गरेका थिए ।उनीहरुले तल्लो तलामा आगो झोसिरहँदामाथिल्लो तलामा उनीहरुले मच्चाएको लुटपाट र तोडफोड कैद गरिरहेका पत्रकार सुरेश रजक जलेर मृत अवस्थामा भेटिएका थिए । जसका कारण रजकको मृत्यु रहस्यमय बनिरहेको थियो। आगो कसले झोस्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहे पनि त्यसको वास्तविकता खुल्न सकेको थिएन ।

तर आइतवार बाहिरिएको भिडियो फुटेजले भने राजावादीहरुलाई अप्ठ्यारोमा पारेको छ । सो घरमा आगो झोस्न सुरु गरेका युवाहरु राजावादी संगठनका सदस्य रहेको खुलेको छ । आगो झेस्ने मुख्य युवक २२ वर्षीय तारा राजावादी भनिने सरोज गौतम हुन् । रामेछाप सुनापानी गाउँपालिका–१ का उनी राजावादी संगठनको युवादस्ता एनिटाइम फोर्स (एटीएफ)का प्रवक्ता तथा जनसम्पर्क विभाग प्रमुखसमेत रहेको खुलेको छ ।त्यस्तै उनीसँगै आगो झोसिरहेका अर्का व्यक्ति अछाम पन्चदेवल नगरपालिका–५ का अनुपविक्रम शाही ठकुरी राजावादी भनिने गोकर्ण शाही रहेको प्रहरीले जनाएको छ । उनी पनि एटीएफका सदस्य रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।उनीहरु दुवैजनालाई प्रहरीले चैत १९ गते नै नरेफाँटबाट पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ । अहिले उनीहरुमाथि अपराधिक उपद्रोव र सांगठनिक अपराधको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । सोही घरमा आगजनी भएपछि निस्किएकी ऐनी कुँवर लगायतका व्यक्तिहरु यसअघिनै पक्राउ परिसकेका छन् । यही प्रर्दशनमा सहभागी भएका कारण राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा पनि पक्राउ परेका छन् ।अराजकता मच्चाएको भन्दै आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंलाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । उनलाई शुक्रबार भारतको आसामबाट पक्राउ गरी शनिबार झापा हुँदै काठमाडौं ल्याइएको थियो ।

यो प्रदर्शनमा पूर्वराजाको प्रत्यक्ष संलग्नता रहेको राजनीतिक दलहरुले दाबी गर्दै आएका छन् । सांसदहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुने घटनाका सन्दर्भमा बयान लिनु पर्ने माग गरिरहेका छन् । तर यसका आयोजकसमेत रहेका नवराज सुवेदीको समितिले भने प्रदर्शनमा राजाको चासो कतैबाट नभएको दाबी गर्दै आएको छ ।पूर्वराजा शाहले नयाँ वर्ष २०८२ सालको शुभकामना दिँदै १३ मिनेटको भिडियोमा तीनकुने घटनाबारे १५ दिन पछि करिब डेढ मिनेट मात्र खर्चिए । उनले तीनकुने घटनामा ज्यान धनको क्षति भएको आफूले सुन्दा दुःखी भएको भनेर हल्कारुपमा टिप्पणी गरेका छन् । जब कि तीनकुनेमा राजतन्त्र फर्काउन भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने २० जनाभन्दा धेरैलाई गोली लागेको थियो ।

राजतन्त्र फर्काउने भन्दै राजावादीहरु सलबलाउँदा गणतन्त्र पक्षधर नेता तथा सरकारले भने तीनकुने घटनाको जिम्मा राजावादीहरुले लिनु पर्ने जिकिर गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत राजा फर्काउँछु भनेर कम्मर कसेकाहरुले घरमा जिउँदै मानिस जलाएको भन्दै तीनकुने घटनामा जलेर मृत्यु भएका सुरेश रजकको मृत्युको कारण राजावादी रहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओली पछिल्लो समय जहाँ जहाँ पुग्छन्, त्यहाँ राजावादीविरुद्ध तीतो ओकल्ने गरेका छन् ।

हालसम्मको अवस्थामा तीनकुने घटनामा एक जनाको राज्यले र अर्का एक जनाको प्रदर्शनकारीको उग्रताका कारण ज्यान गएको देखिन्छ । तर यसमा दुवै पक्षले हालसम्म जिम्मा लिएका छैनन् । सरकारले यसको सम्पूर्ण दोष राजावादीलाई लगाउँदै आएको छ भने राजावादीहरु तीनकुने घटनामा राज्य जिम्मेवार रहेको आरोप लगाउँदै पन्छिँदै आएका छन् । एकले अर्कामाथि आरोपप्रत्यारोप गर्ने बाहेक स्वतन्त्र न्यायिक छानबिनसमेत हुन सकेको छैन । यसमा राज्यले नै गम्भीर चासो नदिनुले पीडितलाई राहत दिनेभन्दा आहात पार्ने काम भइरहेको देखिन्छ । कतै आरोपप्रत्यारोपकै कारण घटना सामसुम हुने त होइन भन्ने शंका पनि उब्जाएको छ भने पूर्वराजा र राज्य नै नागरिकप्रति जिम्मेवारी छैनन् भन्ने कुरामा थप बल मिल्दै गएको छ ।