सत्तामा रहेर काम देखाउनुपर्ने नेकपा एमाले सडकमा गएर तमासा देखाउने बाटोमा अघि बढेको छ । यसैको परिणाम स्वरुपजागरण सभा गर्नेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सक्रिय पार्नेसम्मको काम एमालेले गरेको छ । यसैबीच एक लाख युवा उतारेर काठमाडौँमा शक्ति प्रदर्शनको अर्को तयारी गरेको एमालेले किन यो आवश्यकता महसुस गरिरहेको छ त ?
झण्डै दुई तिहाइको सरकार,शेरबहादुर देउवा जस्ता सच्चा दोस्त भएकाबेला काम गर्नुपर्ने एमालेले पनिसडकमै जाने बाटो रोजेको छ । अर्थात सत्ता र सडकमै गएर नाटक देखाउन थालेको एमाले आफ्नै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको भुल्न थालेको त होइन भन्ने प्रश्न यसले उब्जाएको छ । विशेषतः राजावादी लगायतको आन्दोलनले सडक तातिँदा तथा चौतर्फी अन्य आन्दोलले घेरिन थालेपछि काम गर्न नसेकेका ओलीले शक्ति प्रदर्शनको बाटो अंगालेका हुन् । अर्थात आई लभ यु केपी बा बाट चौतर्फी आलोचना हुने तथा सम्बोधन गर्न थालेपछि कार्यकर्ता नै कार्यक्रम स्थल छाडेर हिँड्ने अवस्था आएपछि आत्तिएको एमाले कामभन्दा शक्ति प्रदर्शनमा जुटेको छ ।
यसैको उदाहरण पूर्वझापादेखि पश्चिम धनगढीसम्म जनजागरण भन्दै सम्बोधन गर्न ओली नै पुगिरहेका छन् । जहाँ एकलाखभन्दा बढी कार्यकर्ता उपस्थित भएको र यो गणतन्त्र र संघीयता विरोधीको विरोधमा आयोजना गरेको एमालेले बताउँदै आएको छ । जहाँ यसैको नयाँ अध्याय एमालेलेएक लाख युवा उतारेर काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारीमा छ । वैशाख ११ गते हुने सो कार्यक्रलाई लोकतन्त्र उत्सव भनिएको छ भने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रमको संयोजन गर्दैछन् ।
४० वर्षभन्दा कम उमेरका युवाहरु आउने भनिएको यो कार्यक्रम विशेषत युवासँग ओलीलाई जोड्ने कार्यक्रमकै रुपमा हेरिएको छ । यता एमाले सचिवालय बैठकले पूर्वराजाज्ञानेन्द्र राजतन्त्र फर्काउन र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार ढाल्न सक्रिय भएको निष्कर्ष निकालेको छ । जुन निष्कर्षले भने यो शक्ति प्रदर्शन केवल गणतन्त्र विरोधी तर्साउन मात्र नभएको बुझ्न गाह्रो छैन ।
हुन त सरकारले काम गर्न नसकेको स्वयम् प्रधानमन्त्री ओलीले नै स्वीकार्दै आएका छन् । जहाँ नेपाली कांग्रेसभित्र सरकारको औचित्यवारे प्रश्न उठ्दा महामन्त्री गगन थापाले ताप्के र बिडको उदाहरण दिँदै ओलीमाथि गरेको छेडखानीको अभिव्यक्तिले समेत कांग्रेसभित्रको माहोल अनुमान गर्न गाह्रो छैन ।
त्यस्तैडा.शेखर कोइराला पक्ष त रवि लामिछानेदेखि कुलमान घिसिङका पक्षमा देखिन्छ । राजावादीप्रति समेत नरम देखिने सो हिस्साको तार भारतसम्मै जोडिएको त छैन भन्ने प्रश्न उब्जिँदा त्यसैको सत्यता पत्ता लगाउन परराष्ट्रमन्त्री डा.आरजु राणा भारत पुगेकी थिइन् । त्यस्तै कांग्रेस सभापति देउवाले समेत राजावादीको आन्दोलनमा भारतको हात नभएकोभन्दै मुख खोल्दा सरकारमाथिका प्रश्न भने कम छैनन् । यही कारण पनि नागरिकको प्रश्न छल्न एमाले सडकमा जानु बाध्यता भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
त्यस्तै ओली अहिलेपनि कुनैपनि बेला उपनिर्वाचन हुने डरमा रहेको यसले प्रष्ट पार्ने विश्लेषकहरुको टिप्पणी छ । यो नै अन्तिम विकल्प भनिदा कथम कांग्रेसले साथ छोड्ने अवस्था बने त्यसले उपनिर्वाचनकै अवस्था आउने बताउने उनीहरु सत्ता र सडकमा समानान्तर गतिविधि गर्ने ओलीको रणनीति यसैको डर भएको बताउँछन् । अर्थात ओली थाकिसकेकाले सरकार ढले प्रमुख प्रतिपक्षी हुने शक्तिले त्यसको तयारी गर्नु नौलो नभएको राजनीतिक विश्लेषक होमराज आचार्यको तर्क छ ।
मुख्य कुरा त नेपाली राजनीतिमा के गर्न हुने भन्ने नै नभएको व्यंग्य गरिँदै आएको छ । सत्तामै रहेर सडकमा जाने विषयसमेत यसअघि प्रचण्डले समेत अंगीकार गरिसकेका छन् । त्यस्तै कुनै समय कांग्रेस पनि सत्ता र विपक्षी नछुटिने अवस्थामा पुगेको उदाहरण रहँदा वर्तमान सरकारले भने काम गर्न नसकेको बहाना गर्न नपाउने स्वयम सत्तारुढ दलकै नेताहरुले बताउँदै आएका छन् । यस्तो अवस्थामा के सडकमा गएर नाटक देखाउन चाहिँ पाउँछ ? यो प्रश्न पेचिलो बन्दा एमालेले व्यवस्थामाथिको प्रश्न कम गर्न नसेको भन्दै प्रश्न आफैँमाथि गर्ने कि अरुलाई धम्काएर आत्मरतिमा रमाउने ? त्यसको जवाफसमेत एमालेको यो हर्कतले खोजेको छ ।
प्रतिक्रिया