राजनीति

नयाँ वर्षको उत्सवमा भ्याइ नभ्याइ, मन्दिरदेखि सिनेमा हलसम्म प्याक


२०८१ साललाई बिदाइ गर्दै आज नयाँ वर्ष २०८२ लाई स्वागत गरिएको छ । सबैले आ–आफ्नोे तौरतरिकाबाट नयाँ जोश, जाँगरका साथ नयाँ वर्ष मनाएका छन् ।

बाह्र राशिमध्येको अन्तिम राशि मीनमा रहेको सूर्य, पहिलो मेष राशिमा आगमन गरेसँगै विक्रम संवत्को एक चक्र पूरा भएको छ । यो चक्र पूरा भएसँगै नेपालले मात्रै आधार मानेर मनाउने नयाँ वर्ष सुरु भएको छ । चैतको ३१ गते मीन राशिमा रहेको सूर्य वैशाख १ मा मेष राशिमा प्रवेश गरेपछि नेपाली नयाँ वर्ष अर्थात् विक्रम सम्वत् २०८२ सुरु भएको हो । नयाँ वर्षको अवसरमा राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सम्पूर्ण राजनीतिक दलका शीर्षस्थ नेताहरूले शुभकामना दिएका छन् । राजनीतिक दलका नेताहरूले नयाँ वर्षको शुभकामना दिइरहँदा आम नेपालीहरूमा पनि उल्लासको वातावरण बनेको छ । जुन काठमाडौँ लगायत देशका पर्यटकीय स्थानहरुमा देखिएको भिडभाडले प्रस्ट पारेको छ । ज्योतिषशास्त्रअनुसार ०८२ साल ऐतिहासिक वर्ष भएको हुँदा यस वर्ष अहिलेसम्म नभएको सकारात्मक काम हुने विश्वास गरिएको छ ।


नयाँ वर्षका दिन जे सुरु गर्याे त्यही कार्य वर्षभरि हुने जनविश्वास रहेकाले हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ योजना निर्माण एवं सङ्कल्प गर्ने गर्दछन् । बिहानै मन्दिरमा गएर पूजा पाठ गर्ने तथा वर्षभरी गर्ने आफ्नो कार्य सफलताको कामना गरिन्छ । त्यसैले आज पशुपतिनाथको मन्दिरलगायत देशैभरका मठमन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको थियो । मन्दिरमा मात्रै नभएर सपिङ मल, चलचित्र हल, बाल उद्यान, मनोरञ्जनस्थल तथा पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउनेहरूको उल्लेख्य चाप देखियो ।

समय अनुसार नै नयाँ वर्ष मनाउने तौरतरिका पनि फेरिँदै गएको छ । पहिलेपहिले मठमन्दिरमा गएर पूजाआरधना गरेर मनाउने गरिए पनि अहिले भने परिवारजनसँग पर्यटकीय स्थानहरुमा घुमघाम गर्ने तथा रमाइलो गर्ने चलन बढ्दै गएको छ । नयाँ वर्षले नयाँ सङ्कल्प गर्नुका साथै उत्साह र उमङ्ग छर्ने भए पनि पारिवारिक जमघट गर्ने अवसरका रुपमा पनि यसलाई सदुपयोग गर्न थालिएको छ ।

यद्यपि नयाँ वर्षको अवसरमा पूर्वराजादेखि राष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका शीर्षस्थ नेताहरूले शुुभकामना दिएका छन् । राजनीतिक दल र नेताहरूले नयाँ वर्षको शुभकामना दिँदै गर्दा उनीहरुप्रति नागरिकको असन्तुष्टि भने कायमै छ । नेपाली राजनीतिकै कारण निराश बनेका जनताले नयाँ वर्षसंगै नेताहरुमा सद्बुद्धि फिर्ने आशासहित स्वार्थ त्यागेर जनताको हितमा काम गर्न सुझाव दिएका छन् ।


वसन्त ऋतुको यो याममा बोटविरुवामा पनि नयाँ पालुवा पलाउने हुँदा मनमोहक वातावरण हुने भएकाले मनोरम दृश्यानूभुतिले नयाँपनको आभाष दिलाउँछ । धार्मिक होस् वा प्राकृतिक सबै हिसाबले नयाँपनको महसुस गराउने यो समयले साच्चै नै केही नयाँ दिएको भान हुन्छ । विगतका वर्षमा झै यस वर्ष पनि क्यालेन्डर मात्र नफेरियोस्, देश र आम नेपालीको दैनिक जीवन पनि सकारात्मक तवरले फेरियोस् । देशमा सुख, शान्ति र समृद्धिले फड्को मारोस्, हाम्रो पनि नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना ।