Breaking

तीनकुने घटनाप्रति दुःखि छु : पूर्वराजा शाह (भिडियाेसहित)


काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई दुःखि बनाएको बताएका छन् । गणतन्त्रवादी नेताहरुले उनको धाराणा मागिरहेका बेला तीस दिनदेखिको मौनता तोड्दै शाहले मुख खोलेका हुन् ।

नयाँ वर्षको छेको पार्दै शाहले तयार पारेको १३ मिनेट लामो शुभकामना सन्देशमा उनले तीनकुनेको हिंसात्मक प्रदर्शनले दुःखि बनाएको उल्लेख गरेका छन् । उनले भने, ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ।’

फरक प्रसंगमा शाहले हरेक नयाँ वर्ष आशा बोकेर आउने गरे पनि चरम निराशा दिएर जाने गरेको धेरै समय भएको उल्लेख गरे । आफ्नो पक्षमा बढेको समर्थनप्रति लक्षित गर्दै शाहले देशको भविश्यलाई लिएर नागरिकमा जागरुकता पैदा हुनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्र पूर्वराजाले चाहेका के हुन् ? भन्दै प्रश्न गरेका थिए । घुमाउरो शैलीमा त्यसको जवाफ दिँदै शाहले आफू संवैधानिक राजसंस्थामा विश्वास राख्ने र हरेक समस्याको समाधान संवादमार्फत गर्न सकिने भन्दै आफूलाई पनि ठाउँ दिन सन्देश दिएका छन् ।