राजनीति

दुर्गा पक्राउमै लफडा, दिल्लीले दिएन शरण


चैत १५ गतेको तीनकुने हिंसात्मक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं अन्ततः १४ दिन पश्चात प्रहरीको फन्दामा परेका छन् । पक्राउ परेसंगै प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

‘म भाग्दै भाग्दिनँ, आम्मा कसम’ भाग्दैन भन्दै सरकार र प्रहरीलाई खुला चुनौती दिने दुर्गा प्रसाईं तीनकुने घटनापछि रातारात भागेर भारत पुगे । भारत पुगेर पनि आफू नेपालमै रहेको भन्दै दुईपटक भिडियो सन्देश सार्वजनिक गरेको उनी अन्ततः १४ दिनपछि नेपाल प्रहरीको फन्दामा परेका छन् । भारतको आसाम प्रहरीले उनलाई नेपालको पूर्वी नाका काँडकभिट्टासम्म ल्याएर शुक्रबार बिहान नेपाल प्रहरीको जिम्मा लगायो ।

नेपालमा प्रहरीले इन्काउन्टर गर्नेसम्मको योजना बनाएको भन्दै त्रसित बनेका उनी ज्यानको रक्षाका लागि भारत पुगेको चर्चा छ । पक्राउपछि उनको सचिवालयले भारतको आसाम प्रहरीसमक्ष प्रसाईंले आत्मसमर्पण गरेको दाबी गरेको छ । उनी नेपालको पूर्वी नाका काँकडभिट्टा हँुदै भारतका विभिन्न राज्यहरुमा आश्रय खोज्दै हिँडेको खुलेको छ । काँकडभिट्टा नाका हुँदै भारत छिरेका प्रसाईं पानीट्यांकी पुगेका थिए । त्यहाँबाट उनले भारतीय नेताहरुसँग सम्पर्कको प्रयास गरेको र त्यसपछि आसाम पुगेको प्रहरीलाई दिएको प्रारम्भिक बयानमा स्वीकारेका छन् ।

आसामबाट उनी नयाँ दिल्ली र लखनउसमेत पुगेको खुलेको छ । तर त्यहाँ उनले भरपर्दो आश्रयस्थल नपाए पछि फेरि आसाम पुगेका थिए । प्रसाईं भारत पुगेको आशंकामा प्रहरीले भारतीय सुरक्षाअधिकारीहरुसँग समन्वय गरिरहेको थियो । उनी बसेको घर यकिन गरी भारतीय प्रहरीसमेतको सहयोगमा उनलाई पक्राउ गरिएको थियो । तर प्रसाईंको सचिवालयले भने नेपाल प्रहरी आसामसम्मै पुगेपछि पक्राउ खाने डरले आसाम प्रहरी समक्ष आत्मसमपर्ण गरेको दाबी गरेको छ । आसाम प्रहरीको रोहवरमा प्रसाईंलाई शुक्रवार बिहान झापाको भद्रपुर प्रहरीलाई जिम्मा लगाइएको थियो ।लगत्तै भद्रपुर विमानस्थल हुँदैप्रसाईंलाई जहाजमार्फत प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौँ ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो ।

शुक्रवार भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि १२ दिन थुनामा राख्न अनुमति दिएको छ । अब प्रसाईंमाथिविभिन्न कोणबाट अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।

प्रसाईंमाथि आपराधिक उपद्रव, ज्यानमार्ने उद्योग,संगठित अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने भएको छ ।
नेपाल भारतबीच खुला सीमाना भएका कारण प्रसाईं झापाबाट काँकडभिट्टा नाका हुँदै भारत छिरेका थिए । प्रसाईंले भाग्न प्रयोग गरेको स्कोरपियो प्रहरीले यसअघि नै मोरङबाट नियन्त्रणमा लिएको थियो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीको कमाण्डमा खटिएको टोलीले प्रसाईं भागेको बिएबी–४२०८ नम्बरको स्कोरपियोसँगै गाडी धनी मुकुन्द दाहाल र सवारी चालक ईश्वर विकलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो ।उनीहरूले प्रसाईंलाई बिर्तामोडस्थित प्रसाईंकै बीएण्डसी अस्पतालमा छाडेर आफुहरू इटहरी आएको बयान दिएका छन् ।

तीनकुनेबाट भागेका प्रसाईं सुरुमा ललितपुरको इमाडोलस्थित धर्मगुरु पुष्कर खतिवडाको घरमा पुगेका थिए । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडेको खतिवडाले प्रहरीलाई बताएका छन् । इमाडोलबाट चापागाउँ पुगेपछि फर्केर उनी बनेपा हुँदै झापा पुगेका थिए ।

प्रसाईं भारतमै रहेको निष्कर्षसहित प्रहरी टोली काँकडभिट्टा नाका हुँदै भारततर्फ लागेको थियो । भारतको आसाम, सिलिगुडी हुँदै दिल्लीसम्मका भारतीय प्रहरीसँग नेपाल प्रहरीले समन्वय गरेको थियो । प्रहरीले गत बुधबार नै प्रसाईं आसाम आसपासमा रहेको सुइँको पाएको थियो । तर, त्यहाँबाट आफैंले पक्राउ गरेर ल्याउन चुनौती देखेपछि भारतीय प्रहरीको सहयोग मागेको थियो । उता प्रसाईंले आफू पक्राउ पर्ने निश्चित भएपछि बिहीबार आसाम प्रहरीमा गिरफ्तारी दिए ।शुरूमा प्रसाईंलाई भारतीय प्रहरीले नेपालको नाकामा ल्याएर छाड्ने र त्यहाँबाट नेपाल प्रहरीले पक्राउ गरेर ल्याउने तय भएको थियो । सोही सल्लाह बमोजिम प्रहरी शुक्रबार बिहान काँकडभिट्टा नाकामा पुगेको थियो ।

नेपाल भारतबीच अपराधी ‘लेनदेन’ गर्ने कानुनी जटिलताका कारण प्रहरी प्रधान कार्यालयले गएराति विज्ञप्ति प्रकाशन गरेर प्रसाईंको ‘खोजी भइरहेको’ जिकिर गरेको थियो । त्यतिन्जेल उनी पक्राउ परिसकेका थिए । भागेर भारत पुगेका प्रसाईंले सामाजिक सञ्जाल मार्फत दुईवटा भिडियो सन्देश सार्वजनिक गरेका थिए । सार्वजनिक दुईभिडियोमध्ये एउटा आसाममा उनी बसेको घर नजिकैको मन्दिरमा रेकर्ड गरेको भेटिएको छ । एउटा भिडियो चाहिँ एडिट गरेर तयार गरिएको पाइएको छ ।

चैत्र १५ गते तीनकुनेमा भएको भेलाको कमाण्डिङ गरेका प्रसाईंको उदंड हर्कतका कारण भीड अराजक भएको र प्रहरी उत्तेजित भएको विश्लेषण भइरहेका बेला प्रहरीले प्रसार्इंलाई अब विभिन्न मुद्दाहरु चलाउने तयारी थालेको छ । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरका बिरामी भएकाले इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताएका छन् ।यसले अब प्रसाईंको हिरासत बसाईं काठमाडौं कै कुनै एक अस्पतालमा हुने देखिन्छ ।