तीनकुने घटनालाई लिएर गृहमन्त्री रमेश लेखकमाथि प्रश्नको वर्षा भएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिमा सांसदहरूले गृहमन्त्रीमाथि सवालजवाफ गरेका हुन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्यो । जसमा तीनकुनेमा भएको हिंसात्मक घटनालाई लिएर समितिका सदस्यहरूले गृहमन्त्रीमाथि प्रश्नको वर्षा गराए । मानव अधिकारको मुद्दालाई पनि प्राथमितामा राखेर गृहमन्त्री रमेश लेखकमाथि प्रश्न तेर्सिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ध्रुवबहादुर प्रधानले उक्त विध्वंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले नै लिनु पर्ने जिकिर गरे । निहत्था नागरिकमाथि सेमीअटो हतियारबाट गरिएको निन्दनीय गतिविधिलाई मानव अधिकारले पनि नजिकबाट नियाली रहेको उनले बताए । राप्रपाका नेताहरूलाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै उनले आपत्ति पनि जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले तीनकुने घटनाले राज्य कमजोर भएको स्पष्ट भएको उल्लेख गरे । यस्ता अप्रिय घटना हुन दिनै नहुने सरकारको पहिलो कर्तव्य भए पनि कानुनी शासनमा हुनु पर्ने भन्दा विपरीत कार्य भएको भन्दै उनले राज्य नराम्रोसँग चुकेको टिप्पणी गरे । भविष्यमा यस्ता घटना हुन नदिन अध्ययन गर्न सुझाएका उनले सरकार गम्भीर हुनु पर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाह पनि जवाफदेही हुनु पर्ने आवाज समिति बैठकमा उठेको छ । पूर्वराजा ज्ञानेन्द्र पनि आमनागरिक सरह रहेकाले लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैले गर्छ भने त्यो जवाफदेही हुनु पर्ने भन्दै कांग्रेसका सांसद जीवन परियारले समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए । एमाले सांसद महेश बर्ताैलाले पनि तीनकुने घटनामा ज्ञानेन्द्रलाई जवाफदेही बनाउनुपर्ने भन्दै आन्दोलनको कमाण्डरलाई समाइसकेको र पूर्वराजा ज्ञानेन्द्रलाई पनि समाउनु पर्ने राय राखेका थिए ।
गृहमन्त्री लेखकले गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन आपराधिक घटना भएको दाबी गरे । सांसदहरूको जवाफ दिँदै मन्त्री लेखकले तीनकुने घटनाको विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य भएकोमा विवाद नै हुन नसक्ने जिकिर गरे ।
लोकतन्त्रमा असहमतिहरू शान्तिपूर्ण रूपमा राख्ने र जनमतबाट स्वीकृत गराउने अधिकार संविधानले नै दिएको स्पष्ट पारेका उनले उक्त घटनालाई आफूहरूले गम्भीरतापूर्वक लिएको र आइन्दा यस्ता घटना हुन नदिने बताए । घटनाका घटेको १३ औं दिन अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्था बुझेका उनले सबैको स्वास्थ्य उपचार खर्च सरकारले बेहोर्ने जानकारीसमेत गराए ।
तीनकुने घटनालाई लिएर थुप्रै सवाल जवाफ भए पनि घटनाको जिम्मेवारी कसैले लिएको छैन । सत्ता र राप्रपा बाहेका प्रतिपक्षीहरू सबैले पूर्वराजा ज्ञानेन्द्र तर्फनै औँला सोझ्याएका छन् । तर, राप्रपा भने घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने अडानमा छ ।
प्रतिक्रिया