शिक्षा

शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलन जारी, मन्त्रीस्तरीय वार्तामा शिक्षकले बुझाए २४बुँदे मागपत्र


काठमाडौं—नेपाल शिक्षक महांसघले सहमति अनुसार विद्यालय शिक्षा विधेयक अगाडि नबढेसम्म आन्दोलन स्थगित नगर्ने जनाएको छ। महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको वार्तामा विधेयक कसरी बढाउने भन्ने आधार तय नभएसम्म आन्दोलन स्थगित नगर्ने अडान राखेको हो ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार विद्यालय शिक्षा ऐनका बारेमा शिक्षा मन्त्रालयको धारणा स्पष्ट पार्न शिक्षामन्त्रीलाई २४ बुँदे मागपत्र बुझाइएको छ। पत्रमा शिक्षकको वृत्ति विकास, सेवा सुविधाका शिक्षक स्थायित्व, अस्थायी प्रकृतिका सबै शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्न माग गरिएको छ ।

यसैगरी निजामती कर्मचारी र शिक्षकको बीचमा भएको ग्रेडको असमानता मिलान गर्नुपर्ने, विद्यालय कर्मचारीका लागि दरबन्दीको व्यवस्था र स्थायित्व हुनुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षकलाई विद्यालय संरचनाभित्र ल्याउने र प्रावि तृतीय सरहको सेवा सुविधा दिनुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवा र बढुवाको अनुपातमा वृद्धि लगायतका विषय रहेको मागपत्रमा उल्लेख छ ।शिक्षकहरूले पछिल्लो एक सातादेखि काठमाडौंमा दैनिक प्रदर्शन गर्दै आएका छन् ।