समाचार

मिसनमा जानका लागि बिचौलियालाई रकम बुझाउने ८ जना सशस्त्र प्रहरीलाई कारबाही गरियो


काठमाडौं—यूएन (संयुक्त राष्ट्रसंघ) शान्ति मिसनमा जानका लागि बिचौलियालाई रकम बुझाउने ८ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको छ । बिचौलियालाई रकम बुझाएर मिसन जान खोज्नेलाई आन्तरिक छानबिन गरी सशस्त्र प्रहरी हेडक्वार्टरले कारबाही गरेको हो ।

कारबाही भोग्नेहरूमा जवानदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारी छन् । उनीहरूलाई नसिहतदेखि पद घटुवासम्मको कारबाही गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले बताए । मिसनका लागि भन्दै रकम बुझाउन बिचौलियासँग भेट गराउन मुख्य भूमिका खेलेको आरोप लागेका सशस्त्रका हवल्दार टुकबहादुर थापाको एक तह घटुवा गरिएको छ । उनलाई हवल्दारबाट सहायक हवल्दारमा झारिएको प्रवक्ता न्यौपानले बताए ।

अन्य सात जनालाई भने नसिहत, एक वर्ष बढुवा रोक्का, ग्रेड घटुवासम्मका कारबाही गरिएको छ । विगतमा विभागीय कारबाही भए÷नभएको हेरेर सोहीअनुसार विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ ।

थापाले बिचौलियासँग सशस्त्रका सुरक्षाकर्मीलाई सम्पर्क गराएपछि उनीहरूले रकम बुझाएका थिए । बिचौलियालाई रकम बुझाएको सूचना पाएपछि सशस्त्रका डीएसपी नवराज बोहराको अध्यक्षतामा सात सदस्यीय समिति बनाएर छानबिन गरिएको थियो । उक्त समितिले २१ पुसमा प्रतिवेदन बुझाएको थियो ।

जसमा, १५ नम्बर हेडक्वार्टर काभ्रे दरबन्दी भएका वरिष्ठ हवल्दार भीमप्रसाद सुवेदीले १ लाख, पशुपति बाहिनी मुख्यालयमा कार्यरत हवल्दार राजकुमार लामाले १ लाख ५० हजार, सशस्त्र हेडक्वार्टरमा कार्यरत हवल्दार ईश्वर कार्कीले ८० हजार रुपैयाँ बुझाएको खुलेको छ ।

अपराध अनुसन्धान कार्यालयले उक्त विषय छानबिन गरी ठगीको आरोपमा एक जनालाई पक्राउसमेत गरेको थियो । पक्राउ गरेपछि प्रहरीको असई बताउने व्यक्ति असई नभएको खुलेको थियो ।

त्यसैगरी २२ नम्बर गण हेडक्वार्टर गुहेश्वरी भक्तपुरमा कार्यरत हवल्दार बेदबहादुर तामाङले १ लाख ५० हजार, सोही ठाउँमा कार्यरत सहायक हवल्दार कमल बानियाँले २ लाख, सशस्त्र हेडक्वार्टरको डग ह्यान्डलर शाखामा कार्यरत सहायक हवल्दार कुमार आले मगरले १ लाख ५० हजार, १९ नम्बर गुल्म हेडक्वार्टर नुवाकोटमा कार्यरत सहायक हवल्दार शंकर थापाले १ लाख ५० हजार र २२ नम्बर गण हेडक्वार्टर गुहेश्वरी भक्तपुरमा कार्यरत जवान यज्ञ खत्रीले १ लाख ५० हजार रुपैयाँ बुझाएको खुलेको थियो ।