काठमाडौं—आज बिहानदेखि परेको वर्षापछिको बाढीले उदयपुरको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ। सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको उक्त वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए। ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँच्चिएको छ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पुल भाचिँदा रु. दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो।
पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको ह्युमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ। सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो।
प्रतिक्रिया