Breaking

विफल हुँदै निर्मल निवासको योजना, दुर्गाभन्दा कमजोर देखिए लिङ्देन


राजा फर्काउने आन्दोलन तुुहिएको चर्चाका बीच राप्रपा फेरि जुर्मुराएको छ । बल्खुको सभालाई निर्णायक आन्दोलनको जनाउ घण्टीका रुपमा हेरिए पनि अपेक्षाकृत सहभागिता भने देखिएन । अर्कोतर्फ निर्मल निवासको मन जित्न राप्रपा प्रयासरत रहँदा यस्तै चालले कसरी होला भन्ने प्रश्न त छ नै । आन्दोलन कमजोर भए पनि चर्चा भने कम छैन ।

तीनकुने तवाहीपछि तितरवितर भएका राजावादीको हिम्मत अझै फर्किसकेको छैन । त्यसको स्पष्ट सन्देश मंगलबार बल्खुमा राप्रपाको आन्दोनले दिएको छ । आन्दोलन नै तुहिएको चर्चाका बीच सकड संघर्षमै रहेको सन्देश त राप्रपाले दिएको छ ।

तर, सबै जिल्लामा उपस्थितिका लागि सर्कुलर गरिएको बल्खु आन्दोलनमा त्यो दमदार सामथ्र्य भने राप्रपाले देखाउन सकेन । फलतः यही ताल रहे बैशाखदेखि गर्ने भनिएको चरणबद्ध आन्दोलनका लागि यो शुभ संकेत पक्कै होइन । किनकि राप्रपाले अपेक्षा गरेकै भीड समेत उपस्थित भएन ।

अराजक आन्दोलन शान्तिपूर्ण त बन्यो तर राप्रपाको शक्ति अपेक्षित बलियो देखिएन । तर पनि दुर्गा प्रसाईंको अराजकताले कार्यक्रम नै भाँडिएपछि १५ गते दिन नसकेको चेतावानी भने राप्रपाले मंगलबारको सभामार्फत भब्य रुपमा गला च्यातिने गरी दिएको छ ।

अहिले पनि राजनीति राजावादीको रापतापबाट माथि उठ्न अझै सकेको छैन । त्यसका केही तथ्य विस्तृतमा चर्चा गरौँ :
१. दुर्गाको कमान्ड लिङ्देनमा सिफ्ट
अराजक दुर्गा प्रसाईं उम्किएपछि आन्दोलनको नेतृत्व राजेन्द्र लिङ्देनले गरेका छन् । तीनकुनेको हिंसात्मक प्रदर्शनपछि शक्ति बलियो तर माहोल शान्तिपूर्ण बनाउनु पर्ने चुनौतीमा रहेका उनले त्यसमा जितेका छन् । तर, शक्ति प्रदर्शनको सवालमा भने चैत १५ जतिको माहोल पनि देखिएन ।

त्यस दिन चार हजारको आसपास दुर्गाका समर्थक आएको प्रशासनको तथ्यांक रहे पनि आठ हजारको संख्यामा उपस्थिति रहेको दाबी गरिएको थियो । तर, राप्रपाको यो आन्दोलनमा भने प्रशासनको तथ्यांक मान्ने हो भने दुई हजार मात्र भेला भएका छन् । जबकि एक वर्षअघि यही ठाउँमा दुर्गा प्रसाईंले मात्र २५ हजारको हाराहारीमा भीड उरालेका थिए । सम्भवतः यो भीडको मूल्यांकन निर्मल निवासले समेत गरिरहेको हुनुपर्छ । तर, शान्तिपूर्ण र सु–संस्कृत रुपमा आन्दोलन सम्पन्न गर्न सक्नु राप्रपाका लागि ठूलो सफलता हो ।

२.निर्मल निवास के गर्छ ?
चैत १५ को आन्दोलनअघि निर्मल निवासको आशीर्वादमै प्रसाईं जनकमान्डर तोकिएको चर्चा भयो । र आन्दोलनमा देखिएको उद्दण्डतापछि आफूमाथि नै प्रश्न उठेपछि स्वयं पूर्वराजाले पनि गलत मान्छेलाई विश्वास गरेको भन्दै पश्चाताप गरेका स्रोत बताउँछ । तर, उनले राप्रपालाई नै पनि खुलेर साथ दिइसकेको अवस्था छैन । यही अवस्थामा जगमान गुरुङको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले बुधबार कस्तो राजा भन्नेबारे खाका देखाउने तयारी गरिरहेको छ ।

३. गणतन्त्रवादीको रणनीति
राजावादीका संविधानविरोधी गतिविधि तीव्र बन्दै जाँदा सरकार र गणतन्त्रादी नेताहरु थप आक्रामक बन्दैछन् । उनीहरुको सक्रियता र पूर्वराजाको आह्वानले गणतन्त्रवादीहरुको एक हदसम्म निद हराम गरेकोमा दुईमत छैन । यस्तो अवस्थामा सरकार निर्मम बनेको छ । पक्राउ परेका राप्रपा नेताविरुद्ध फेरि १५ दिन म्याद थप भएको छ । प्रशासन पनि निर्मम बन्दै गएको छ । उनीहरुको गतिविधिका कारण राष्ट्रिय सहमतिदेखि मुख कुल्ला गर्दै हिँड्ने केपी शर्मा ओली र माधव नेपालसमेतलाई नजिक बनाइदिएको छ ।

अर्कोतर्फ यी सबै आन्दोलनमा ओलीको मात्रै विरोध बढी झल्किएको भन्दै ओलीलाई सत्ताबाट बाइपास गर्नुपर्ने एक लाइन कांग्रेसमा पनि छ । यही बेला कम्युनिस्ट मिल्न सक्ने कार्ड मात्र फालिएको छैन । प्रधानमन्त्री नै भन्दैछन्– राजा ल्याउने भन्दै वितण्डा मच्चाउनेहरुलाई छुट हुँदैन ।

४. भारत फ्याक्टर
यही बेला राजावादीको उक्साहटमा दक्षिणी भारतीय वायुको प्रभावको आरोप छ । राजावादीको सक्रियतामा मोदी–योगी फ्याक्टरकै चर्चाका बीच बैंककमा भएको ओली र मोदी भेटमा मोदीले जय श्री राम लेखिएको गम्छासहित उपस्थित भएका थिए । भगवान राम नेपालको ठोरीमा जन्मिएको प्रधानमन्त्री आलीको अभिव्यक्तिको जवाफस्वरुप मोदीबाट सांकेतिक हमला भएको भन्दै भारतीय मिडियाहरुले चर्चा गरिरहेका छन् ।

यसलाई नेपालमा हिन्दुराष्ट्र पुनस्र्थापनाको दबाब मोदीले दिएको रुपमासमेत हेरिएको छ । यही अवस्थामा कांग्रेस पनि अहिले बरु ओलीलाई हटाएर भए पनि हिन्दुराष्ट्रको पक्षमा उभिने र राजावादीका अभियान निस्तेज पार्न भारत रिझाउने होडमा रहेका बेला भारतले दिनुपर्ने जवाफ कांग्रेसका सभापति शेरबहादुर देउवाले दिँदै हिँडेका छन् ।

राजावादी आन्दोलनको आक्रामक भिडका नाइके दुर्गा भूमिगत अवस्थामा छन् । अर्को पक्ष जसले शान्तिपूर्ण दबाब बढाइरहेको छ । उसको पक्षमा न शक्तिशाली भिड देखिएको छ न, दरबारको आशीर्वाद नै । अर्कोतर्फ जो नेता बिग्रिए भनेर राप्रपा सडकमा आएको छ, तीनै नेताको आशीर्वादमा शीर्ष नेताले चुनाव जितेका छन् ।

ताक परे तीनै नेतासँग मन्त्री, सभामुख पनि खानुपरेको छ । संयुक्त जनआन्दोलन समितिले समर्थन रहेको जनाए पनि जगमान गुरुङ लगायतहरुलाई राप्रपाले मञ्च दिन अस्वीकार ग¥यो । यसले संगठित हुन नपाउँदै राजावादी समूहभित्र तितरवितरको अवस्थासमेत देखिएको छ । यस्तो अवस्थामा राप्रपाको प्रयास मात्र राजा फर्काउने निर्णायक शक्ति बन्न सक्ला ? वा अरु शक्तिले समेत राप्रपाको नेतृत्वलाई स्वीकार गर्न सक्लान् भन्ने प्रश्न कायमै छन् ।