अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि अतिरिक्त ट्यारिफ (कर) लगाउने धम्की दिएपछि चीनले पनि आफ्नो प्रतिक्रिया दिएको छ । चीनले अमेरिकाको कुनै पनि प्रकारको धम्कीलाई स्वीकार नगर्ने र अन्तिमसम्म पूरै ताकतले लड्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया उत्पादनमा आयात शुल्क ‘ट्यारिफ’ बढाएपछि बदलामा बेइजिङले आफू अमेरिकासँग जस्तोसुकै युद्धका निम्ति तयार रहेको प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्पले चीनविरुद्ध थप ५० प्रतिशत आयात कर लगाउने धम्की दिएपछि चीनले यसलाई ब्ल्याकमेलको संज्ञासमेत दिएको छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकाको ब्ल्याकमेल गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने भन्दै अमेरिकी कदमविरुद्ध अन्तिमसम्म लड्ने बताएको छ । यसअघि अमेरिकाले ३४ प्रतिशत आयात कर लगाएपछि चीनले पनि अमेरिकी सामानमा ३४ प्रतिशत जवाफी आयातकर लगाउने घोषणा गरेको थियो । ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत आयात कर फिर्ता नगरे मंगलबारदेखि ५० प्रतिशत थप कर लगाउने बताएका थिए । चीनको वाणिज्य मन्त्रालयले चिनिया सामानमाथि थप ५० प्रतिशत आयात कर लगाउने धम्कीलाई एउटा गल्तीमाथि अर्को गल्तीको संज्ञा दिएको छ । चीनले भनेको छ, ‘अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ ।’ मङ्गलवार चीन सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनिया दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरेको छ । ट्रम्पले कार्यभार सम्हाले यताको यो सबैभन्दा खरो चिनियाँ प्रतिक्रिया हो ।
राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनिया नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको हो । चिनिया नेताहरू व्यापार युद्धको जोखिमकामाझ समेत आफूहरू देशको अर्थतन्त्र विस्तार गर्न सकिनेमा विश्वस्त रहेको बताएका छन् । चीनले विगतमा पनि आफू युद्ध गर्न तयार भएको बताएको थियो । गत अक्टोबरमा राष्ट्रपति सी जिनपिङले सेनालाई युद्धका निम्ति तयारी सुदृढ पार्न आह्वान गरेका थिए । त्यसबेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्यास गरेको थियो । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा नै ट्रम्पले चीन विरोधी नीति लिएका थिए । सोही नीति कार्यान्वयन गर्दै जाँदा चीनसँगको अमेरिकाको सम्बन्ध बिग्रेको हो । त्यसो त चीनसँग अमेरिकाको पहिला पनि राम्रो सम्बन्ध हुन सकेको थिएन । तर, ट्रम्पको आगमनले भने यो सम्बन्ध थप चिसिँदै गएको छ । पछिल्लो समय ट्रम्पको नीतिले विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध नाजुक अवस्थामा पुगेको छ । अमेरिका–चीनको सम्बन्ध चिस्याउने सबैभन्दा ठूलो कारण व्यापार युद्ध हो ।
अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध रहेको चीनसँग उसको व्यापार घाटा पनि धेरै छ । त्यसैले ट्रम्पले व्यापारघाटा घटाउने नीति लिएर केही कदमहरु चाले पनि चीनले भने आफ्नो नीतिमा कुनै पनि परिवर्तन गरेको छैन । त्यसपछि सन् २०१८ देखि अमेरिका र चीनले विभिन्न चरणमा एकअर्कामाथि अतिरिक्त भन्सार शुल्क लगाउँदै आएका छन् । यति मात्रै होइन चीन अमेरिकाको सम्बन्धमा मानव अधिकारको मुद्दा, दक्षिण चीन सागरको विवाद, कोरोना भाइरस, ताइवान मुद्दा, हङकङको सुरक्षा नीति, तिब्बत मुद्दा, हिन्द महासागर रणनीति, लगायत अन्य धेरै कुराहरुमा समस्या देखिँदै आएको छ ।
प्रतिक्रिया