प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार तेस्रो मुलुकमा दोस्रो पटक दुईपक्षीय भेटवार्ता भयो । समकक्षीद्वय ओली र मोदीबीच भएको वान–टु–वान भेटवार्तासँगै दुई देशको नेतृत्व तहको संवादहिनताको ‘ब्रेक थ्रू’ मान्न सकिन्छ । तर वर्तमान प्रधानमन्त्री ओलीको सत्तारोहणपछि चिसिएको नेपाल–भारत सम्बन्धमा तत्काल सुधार आउनेमा भने शंका कायमै छ ।
छैटौँ विमस्टेक शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको साइडलाइन वार्ता पूर्वनिर्धारित भएकाले स्वभाविक थियो । २२ अप्रिलका लागि दुई प्रधानमन्त्रीको भेट तय भएको थियो । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला पनि न्यूयोर्कको लोट्टे प्यालेसमा साइडलाइन भेट गरेका दुई प्रधानमन्त्रीबीच बैंककमा पनि सामान्य औपचारिक भेट हुने आकलन थियो ।
तर प्रधानमन्त्री ओली र मोदीको बैंकक साइडलाइन वार्ताले सबैलाई चकित पारिदियो । प्रधानमन्त्री ओली र मोदीबीच हुने साइडलाइन बैठकको कार्यसूची नै फेरिएको थियो । भेटवार्ताको शैली पनि फेरियो । यतिसम्म कि भारतीय प्रधानमन्त्री मोदीले त ओलीसँग भेट्दा पहिरनसमेत बदल्न भ्याए । दुई प्रधानमन्त्रीबीच सात सदस्यीय प्रतिनिधिमण्डलस्तरमा २० मिनेट छलफल हुने कार्यसूची तय भएको थियो । तर ओली र मोदीले एक्लाएक्लै (वान–टु–वान) भेट गरे । दुई प्रधानमन्त्री टिपोटकर्ता (नोट–टेकर) समेत नराखी ४५ मिनेटसम्म गोप्य वार्ता गरे । यो भेटमा केही नभए पनि दुई मुलुकबीचको संवादहीनतामा आईस ब्रेक भएको जानकारहरुको तर्क छ ।
बंगलादेश, भुटानसहित अन्य मुलुकका समकक्षीहरुसँग समूहिक रुपमा साइडलाइन वार्ता गरेका मोदीले प्रधानमन्त्री ओलीलाई एक्लै भेट दिनुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ । ती भेटहरुमा कालो जुत्ता, सेतो कमिज सुरुवाल, कालो कोट लगाएका मोदीले ओलीसँग भेट्दा फरक पहिरन लगाएका थिए । चम्किलो कमिज सुरुवाल र रातो गम्छासहित मोदी ओलीसँगको वार्तामा बसेका थिए । मोदीले पहिरिएको रातो गम्छामा सानो अक्षरमा लेखिएको ‘जय श्री राम’ को चर्चा मात्र भएको छैन कि मोदीले दिन खोजेको सन्देशको समेत चर्चा भइरहेको छ । कुटनीतिमा संवादले मात्र होइन हाउभाउ, इसाराले समेत ठुलो अर्थ राख्दछ ।
नेपालमा राजसंस्था र हिन्दुराज्यको मुद्दा चर्किएका बेला अझ भारतकै उक्साहटमा राजावादीहरु हौसिएको निष्कर्ष निकालेको एमाले र प्रधानमन्त्री ओलीलाई मोदीले जय श्री राम’ लेखिएको गम्छामार्फत के सन्देश दिन खोजेका हुन् ? कुटनीतिक रुपमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।
दुई प्रधानमन्त्रीबीचको भेटअघि सार्वजनिक भएको भिडियोमा प्रधानमन्त्री ओली उत्साहित मुद्रामा प्रस्तुत भएका थिए भने मोदी अलि बढी औपचारिक ढंगले प्रस्तुत भएका देखिन्छन् । ४५ मिनेट लामो भेटपछि मोदीले ओलीलाई प्रिय मित्र सम्बोधन गर्दै भेट आत्मीय र सौहार्दपूर्ण भएको उल्लेख गर्दै फलदायी, सार्थक र सकारात्मक भएको प्रतिक्रिया दिए । विगतमा भन्दा यस पटक काठमाडौं ओर्लिंदा केही संयमित देखिएका प्रधानमन्त्री ओलीले मोदीसँगको भेट सुमधुर भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकीको जायज चासो र चिन्तालाई सम्बोधन गर्ने तर कोल्टिने राजनीति गर्न नहुने उल्लेख गरे ।
चीन परास्त नेता भएकै कारण भारतको अरुचि पात्र बनेका प्रधानमन्त्री ओलीले जुन ढंगले भाषण गरेका छन्, भारतीय प्रधानमन्त्री मोदीसँगको ४५ मिनेट गोप्य वार्तामा यही सन्देश प्रवाह गर्न कति सके ? यसको नतिजा विस्तारै व्यवहारमा देखिने नै छ । कुटनीतिक भेटको ओझले तब मात्र अर्थ राख्छ जब दुईपक्षीय गतिविधिमा चित्रण हुन्छन् । तत्काललाई विभिन्न सीमा नाकामा रोकिएको नेपाली उत्पादन निर्यातमा सहजता आए मात्रै पनि उपलब्धि मान्न सकिन्छ । अर्को ओलीलाई मोदीले भारत भ्रमणको निम्तो कहिले दिन्छन् ? दिने चेष्टा गर्छन् वा गर्दैनन् त्यसले पनि ओली र मोदीको भेटको मापन हुनेछ । आगामी जेठमा हुने सगरमाथा संवादमा कस्तो प्रतिनिधि पठाउँछन् ?
बिजुली निर्यातको आवर बढाउँछन् वा यथावत राख्छन् ? यसबाहेक ईपीजी प्रतिवेदन, सीमा विवाद लगायतका विषयहरु त छँदैछ । सत्तारुढ दलका नेताहरुले ओली र मोदीको भेटलाई नयाँ आयामको रुपमा ब्याख्या गरिरहेका छन् । यसका साथै दुई नेताबीचको तिक्ततापूर्ण सम्बन्धमा ब्रेक थ्रु भएको दाबी गर्दै नेपाल भारत सम्बन्धमा कुनै दरार नरहेको भाष्य निर्माण गर्दैगर्दा मोदीलाई ओलीले दिएको निम्तो अस्वीकार गर्नुलाई बिर्सन मिल्दैन । सगरमाथा संवादका लागि झन्डै डेढ महिनाअघि नै निम्तो दिँदासमेत मोदीले अस्वीकार गरेका छन् । जानकारहरु यसलाई ओलीप्रति मोदीको असन्तुष्टि नै भएको टिप्पणी गर्छन् । बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि थप चिढिएका मोदीले आफू हारेर ओलीलाई भारत भ्रमण निम्तो नदिने तर्कसमेत उनीहरुको छ ।
ओलीको सत्तारहेणपछि थप चिढिएको भारत सम्बन्ध सुधार्नुभन्दा सत्ता समीकरण नै फेर्ने तयारीमा जुटेको बहस नौलो होइन । केही समयअघि प्रधानमन्त्री ओली स्वयम्ले आफ्नो सत्ता ढाल्न भारत लागेको ब्रिफ्रिङ गरेको चर्चा थियो । पछि हतार हतार उक्त हल्ला सत्य नभएको भन्दै एमालेले विज्ञप्ति नै निकालेको थियो । भारतसँग जोरी खोजेकै कारण पूर्वप्रधानमन्त्री झलनाथ खनाल सत्ताच्युत बनेको सत्य लुकेको छैन । यो सत्य बुझेका ओली त्वम् शरणम् गरेरै भारतसँग सम्बन्ध सुधार गर्न लागी परेका छन् । फलतः कि मोदीलाई नेपाल ल्याउने, नत्र कसै गरी आफू दिल्ली भ्रमणमा जानै पर्ने अडानमा ओली देखिन्छन् । भारत भ्रमणलाई प्रतिष्ठा नै बनाएका प्रधानमन्त्री मोदी परम्परालाई धान्न लागी पुर्नलाई यही ढंगले बुझ्न थालिएको छ ।
प्रतिक्रिया