Breaking

आजदेखि शैक्षिक हडतालसहित काठमाडौं केन्द्रित सडक आन्दोलनमा शिक्षक

योहो संवाददाता

काठमाडौं—विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले आजदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । संसदको हिउँदे अधिवेशन अन्त्य भएपछि शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न तीन विकल्प अघि सारेको छ ।

विशेष वा बर्खे अधिवेशन बोलाएर वा अध्यादेशबाट विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग महासंघले अघि सारेको छ । सरकारले आफ्ना मागमा बेवास्ता गरेपछि चैत २० गतेदेखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै आजबाट शैक्षिक हडतालको घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । अध्यक्ष सुवेदी र महासचिव तुलबहादुर थापाले विज्ञप्ति जारी गरेर देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेका छन् ।

चालु शैक्षिक सत्र अन्त्य र वैशाखदेखि सुरु हुने शैक्षिक सत्रको थालनी गर्ने बेला महासंघले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन शिक्षकहरूलाई अपिल गरेको छ ।सरकारले वार्ता, संवाद र छलफलको आह्वान गर्दा पनि महासंघले अस्वीकार गर्दै आएको छ ।