काठमाडौं—विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले आजदेखि शैक्षिक हडतालको घोषणा गरेको छ । संसदको हिउँदे अधिवेशन अन्त्य भएपछि शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न तीन विकल्प अघि सारेको छ ।
विशेष वा बर्खे अधिवेशन बोलाएर वा अध्यादेशबाट विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग महासंघले अघि सारेको छ । सरकारले आफ्ना मागमा बेवास्ता गरेपछि चैत २० गतेदेखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै आजबाट शैक्षिक हडतालको घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । अध्यक्ष सुवेदी र महासचिव तुलबहादुर थापाले विज्ञप्ति जारी गरेर देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेका छन् ।
चालु शैक्षिक सत्र अन्त्य र वैशाखदेखि सुरु हुने शैक्षिक सत्रको थालनी गर्ने बेला महासंघले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन शिक्षकहरूलाई अपिल गरेको छ ।सरकारले वार्ता, संवाद र छलफलको आह्वान गर्दा पनि महासंघले अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया