प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्यान्ड भ्रमणमा छन् । छैटौँ बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड पुगेका प्रधानमन्त्री ओलीले बैंककमा के के गरे ? सर्वत्र चासोमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीको साइडलाइन बैठक कस्तो रह्यो त ?
छैटौँ बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दुईपक्षीय साइडलाइन भेटवार्ता भएको छ । ओली प्रधानमन्त्री बनेपछि यी दुई समकक्षबीच तेस्रो मुलुकमा भएको यो दोस्रो भेट हो । अझ यो भेट किन पनि विशेष रहेको छ भने पहिलो पटक ओली र मोदीबीच वान–टु–वान भेटवार्ता भएको छ । विहीवार बेलुकासँगै डिनर गरेका ओली र मोदीबीच शुक्रबार ३५ मिनेट त्यो पनि एक्लाएक्लै वार्ता भएको छ । पानी बाराबारको अवस्थाबाट गुज्रिएका प्रधानमन्त्री ओली र मोदीबीचको भेटमा के के कुराकानी भयो ? अहिले उक्त विषयबारे सबै जानकारी बाहिर आइसकेको छैन ।
भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई आगामी जेठमा काठाडौंमा हुने सगरमाथा संवादको निम्तो दिएका छन् । यस्तै, ओलीसँगको भेटबारे मोदीले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत ओलीसँगको भेटवार्ता फलदायी रहेको जानकारी दिएका छन् । अंग्रेजीका साथै नेपाली भाषामा समेत भेटवार्ताबारे जानकारी दिएका मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन् । साथै भारत नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल भएको जनाएका छन् । मोदीले नेपाली भाषामा भेटबारे पोस्ट गर्दा प्रधानमन्त्री ओलीले पनि हिन्दी भाषामा पोस्ट गर्दै मोदीसँग भेटवार्ता भएको जानकारी दिएका छन् । प्रिय मित्रसँग आत्मीय भेट भएको र अन्यन्त सार्थक तथा सकारात्मक कुराकानीले आफू हर्षित भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
तर प्रधानमन्त्री ओलीले मोदीसँगको भेटमा कुन कुन विषयमा कुराकानी भयो भन्नेबारे खुलाएका छैनन् । ओलीलाई भारत भ्रमणको निम्तो दिन आनाकानी गरिरहेका मोदीसँग थाइल्यान्डमा भएको भेटवार्ता कति फलदायी र दुई पक्षीय सम्बन्धमा त्यसको प्रभाव कस्तो पर्छ ? विभिन्न कोणबाट टिप्पणी भइरहेको छ ।
यसअघि गत असोज ७ गते अमेरिकाको न्यूयोर्कस्थित लोते प्यालेसमा प्रधानमन्त्री ओली र मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका दुई प्रधानमन्त्रीबीच भएको ४५ मिनेट लामो भेटमा मोदीले छिट्टै नेपाल भ्रमण गर्ने र दुई पक्षीय संयन्त्रहरू सक्रिय बनाएर दुई मुलुकबीच रहेका तमाम समस्या समाधान गर्ने आश्वासन दिएका थियो । तर बितेको सात महिनामा न त मोदी नेपाल आए न त भारत भ्रमण गर्न खुट्टा उचालेर बसेका ओलीलाई नै मोदीले निम्तो पठाए । त्यसैले पनि दुई प्रधानमन्त्रीको बैंकक भेट थप चासोपूर्ण बनेको छ । मोदीसँगै प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका प्रधानमन्त्री डाक्टर हरिनी अमरासुरिया लगायतसँग साइडलाइन भेटवार्ता गरेका छन् । यस्तै बिमस्टेक सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्रतिध्वनित भएको दाबी गरेका छन् । बिमस्टेकले परिवर्तनशील समयलाई मात्र नभई क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
गत मंगलबार बैंकक ओर्लिएका प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा गार्ड अफ अनरसहित थाइ प्रधानमन्त्री पेतोङतार्न शिनावात्रा स्वयम्ले स्वागत गरेकी थिइन् । बुधवार दुई प्रधानमन्त्रीबीच भएको दुईपक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसैगरी दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदानप्रदान भएका छन् ।
कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक नेपालका प्रधानमन्त्रीले थाइल्यान्डको औपचारिक भ्रमण गरेका हुन् । यसले दुई देशबीच कुटनीतिक सम्बन्ध र आपसी सहयोग आदनप्रदानमा नयाँ सिराको सुरुवात भएको मानिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीहरुको प्रयास बिमस्टेक शिखर सम्मेलन बैंकक सोच पत्र २०३० जारी गर्दै शुक्रबारै सम्पन्न भएको छ । सम्मेलनले एसियाली मुलुकहरुलाई जोड्ने भूमिका कति प्रभावकारी बन्न सक्छ त्यो भने आगामी दिनहरुले थप पुष्टि गर्ने नै छ । यद्यपि, यसपटकको बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग गरेको साइडलाइन भेटवार्ता भने अर्थपूर्ण रहेकाले त्यसलाई विशेष महत्वका हेरिएको छ । यो भेट सकारात्मक रहेको भनिए पनि आगामी दिनमा ओली–मोदीबीचको सम्बन्ध कसरी अगाडि बढ्छ ? मोदीले ओलीलाई भारत भ्रमणको निम्तो पठाउँछन् या पठाउँदैनन् ? नेपालको राजनीतिमा त्यसले कस्तो असर पार्छ ? यो भने निकट भविष्यले पक्कै पनि निर्धारण गर्ने नै छ ।
प्रतिक्रिया