दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारका बलियो गृहमन्त्रालय सम्हालेका गृहमन्त्रीले आफ्नो क्षमता प्रर्दशन गर्न नसक्दा आलोचना खेप्नु परिरहेको छ । सिंगो मुलुककै शान्ति सुरक्षाको जिम्मा पाएको गृहमन्त्रालय तीनकुने घटनामा चुक्दा गृहमन्त्री लेखक थप दबाबमा परेका छन् ।
शालीन र बौद्धिक नेताको छवि बनाएका गृहमन्त्री रमेश लेखक गृहमन्त्रीको कुर्सीमा बसेयता भने बदनाम छन् । दुई नागरिकको ज्यान गएको, आगजनी, ढुङ्गामुडा र तोडफोडका कारण कराडौंको क्षतिको भएको तीनकुने घटनाले त गृहमन्त्री लेखक झनै नाङ्गिएका छन् । मुठभेडको सम्भावनालाई ख्यालै नगरी दुई फरक समूहलाई त्यो पनि केही किलोमिटरको दूरीमा कार्यक्रम गर्न अनुमति किन दिइयो भन्ने विषयले समेत गृहमन्त्री लेखक घेरिरहेका छन् । यसका साथै दुर्गा प्रसाईंले कमान्ड गरेको राजावादी आन्दोलनबारे सिंगो प्रशासनले यो हदसम्मको अनविज्ञता र खेलाची गर्न मिल्छ ? सुरक्षा संयन्त्रको फितलो व्यवस्थापन, सुरक्षाकर्मी परिचालनमा गरिएको हेलचेक्राईं, घातक हतियारहरुको प्रयोग, प्रर्दशनकारीमाथि म्याद गुज्रेका अश्रुग्यासको प्रयोगले पनि गृहमन्त्री लेखकमाथि प्रश्न तेर्सिएका छन् । त्यसैगरी प्रहरीको घेराभित्रै रहेका दुर्गा प्रसाईं कसरी भाग्न सफल भए ? अझैसम्म उनी किन पक्राउ पर्न सकेका छैनन् ? यस्ता थुप्रै प्रश्नहरुको चौघेरामा गृहमन्त्री लेखक गुज्रिरहेका छन् ।
त्यसो त प्रश्न उठेपछि त्यसमा जवाफदेही बन्नै पर्ने बाध्यतामा रहेका गृहमन्त्री लेखकलाई स्पष्टीकरण दिन भ्याइनभ्याइ छ । शुक्रबार गहृमन्त्री लेखकका साथै सुरक्षा निकायका प्रमुखहरुले राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थिति भएर आमचासोमा रहेका प्रश्नहरुको जवाफ दिएका छन् । तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक दिपक थापाले घटनाको मुख्य नाइके प्रसाईं कसरी भागे भन्नेमा ब्रिफिङ गरे । यस्तै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन न्यून क्षति हुने गरी आवश्यकताको आधारमा बल प्रयोग गरिएको प्रष्टीकरण दिए ।
यता गृहमन्त्री लेखक भने पूर्वराजा र राजावादीलाई दोषी ठहर गर्दै आफ्नो कमजोरी ढाक्छोप गर्न उद्यत देखिए । तीनकुने प्रकरणमा सरकारकै भूमिकालाई लिएर अनेक शंका उपशंका भइरहेका बेला गृहमन्त्री लेखकले व्यवस्था र संविधान रक्षाको हुँकार गर्दै आफ्नो प्रतिरक्षामा उत्रिए । चैत १५ को प्रर्दशनलाई हिंसात्मक, अमानवीय र उच्छृंखल भएको बताउँदै गृहमन्त्री लेखकले सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन नसक्ने जिकिर गरे ।
गृहमन्त्री लेखकको चौतर्फी ओलोचना मात्र भइरहेको छैन, राजीनामा माग्नेहरुको जमात समेत बढ्दै गएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्रीको राजीनामा माग्दै ज्ञापनपत्र नै बुझाएको छ । तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको राजीनामा, त्यसदिनको प्रदर्शनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गरिनुपर्ने भन्दै राप्रपाले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको हो । अन्य प्रतिपक्षी दलका नेताहरुले पनि यसअघिदेखि नै तीनकुने घटनामा सुरक्षा संयन्त्रको जिम्मा लिन गृहमन्त्री चुकेको भन्दै राजीनामा माग गर्दै आएका छन् ।
तीनकुने घटनाले गृहमन्त्री लेखककाका साथै शान्ति सुरक्षाको प्रत्याभूति गराउने राज्य संयन्त्र र सरकारकै क्षमतामाथि पनि प्रश्न उठेको छ । प्रश्नै प्रश्नले घेरिएका गृहमन्त्री लेखकले आफ्नो कार्यक्षमता र कामको गतिलाई थप बढाउनु पर्ने दबाब बढिरहेको छ । फलतः राजीनामा दिनु पर्नेसम्मको नैतिक दबाबमा उनी जेलिँदै गएका छन् ।।
प्रतिक्रिया