कांग्रेस एमालेको दुई तिहाईको सरकार जनताको निराशा चिर्न असफल भइरहेका बेला सिंगो सत्ताको शक्ति भने अनवश्यक काममा खर्च भइरहेको छ । यो आठ महिनाको अवधिमा सरकारका कदमले आफ्ना विरोधीलाई थप हौसाईरहेको छ ।
दुई तिहाइको सरकारले केही गरेन भन्नेहरुका आँखा खोल्नेगरी सरकारले कामको रफ्तार अगाडि बढाएको छ । राजावादीलाई तह लगाएको छ । सरकारमा आउनेबित्तिकै रवि लामिछानेलाई तह लगायो । अब बालेन शाहको पछि लागेको छ । कुलमान घिसिङलाई हटाएर राज्यले बहादुरी देखाइसक्यो । प्रतिपक्षी पनि ठाउँमा आइसकेपछि सायद अब प्रधानमन्त्री केपी शर्मा ओली शान्तिको सास लिइरहेका छन् । अर्कोतर्फ तारा र सिताराझैँ जोडी बनाएको कांग्रेसले पनि सत्ता पाउने लोभमा यस्ता महान कामहरुमा साथ दिइरहेको छ । बिग्रयो, भत्कियो, सबै खतम भयो भन्नेहरुलाई आशा जगाउन सरकारले पछिल्लो आठ महिनामा देखाएको बहादुरीसँग तुलना गर्दैछौँ ।
१. राजावादी तितरवितर
यो व्यवस्था नै सिध्याउने भन्दै राजावादी सल्बलाएका बेला प्रधानमन्त्री ओली उनीहरुलाई तह लगाउन तत्कालका लागि सफल भएका छन् । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा राज्यले अन्धाधुन्ध गोली चलाएको छ । दुई निहत्था नागरिकको ज्यान गएको छ । तर, यसलाई सामान्यीकरण गर्दै पूर्वराजालाई थुन्नेदेखि डाँडा कटाउनेसम्मका चेतावनी यसकै बाछिटा हुन् । सबै दलहरुलाई एक ठाउँ ल्याएर भए पनि राजावादीका आवाज दबाउन केही हदसम्म उनी सफल भएका छन् । नाइके फरार हुँदा राजावादीको आन्दोलन नै अन्योलमा परेको छ ।
२. बालेन ठेगानमा
हुन त एमाले र अध्यक्ष ओली सुरुदेखि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग आक्रामक छन्् । उनकै कारण ओलीको पपुलारिटी डाउन हुँदा अहिले बालेनको मोरल डाउन गराउने मौका ओलीले भेटेका छन् । जहाँ सरकारमा रहँदा आर्जित शक्तिको पनि प्रयोग भएको छ । प्रशासकीय अधिकृत विवाद त्यसकैको उदाहरण हो । एकातर्फ पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब आठ लाख रुपैयाँको जरिवाना पत्र थमाइदिएपछि राजावादीको समर्थन बालेनले गुमाएका छन् । यही बेला भ्रष्टाचारको आरोप लागेपछि बालेनले हटाएका प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई फेरि कार्यालय फर्काइएको छ ।
मेयरले नयाँ हाकिम माग्दा पठाउन आनाकानी गरेको सरकारले नियोजित रुपमा नै फेरि गुरागाईंलाई नै पठाएको विश्लेषण हुँदा दोषी प्रमाणित गर्न पनि नसक्ने र विकास निर्माणका काम र कर्मचारीको तलब रोकेर अनिर्णयको बन्दी महानगरलाई बनाएको भन्दै आलोचना मात्र भएको छैन कि नेतासँग भिड्नुबाहेक उनको काम नै छैन भन्दै उनी आलोचनाको चुुलीमा छन् । यसले मोरल डाउन मात्र गरेको छैन । अस्तीसम्म आफ्नै पक्षमा रहेकी उपमेयर सुनिता डंंगोलसमेत मेयरसँग खनिँदा बालेनलाई प्रतिष्ठाको लडाईं नलडी नहुने अवस्थामा पु¥याइदिएको छ । यसले बालेनको क्रेज निमिट्यान्न पार्ने ओली अस्त्र सफल भएको छ ।
३. ‘सफ्ट कर्नर’मा प्रतिपक्ष
यो बीचमा ओलीले प्रतिपक्षलाई नराम्ररी ठेगान लगाइदिएका छन् । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटाएपछि माओवादीले प्रधानमन्त्रीको चित्तबुझ्दो जवाफ माग्दै संसद चल्न नदिने अडान राख्यो । ओलीले भने सार्वजनिक कार्यक्रममै एक व्यक्ति हटाएर अर्को आइसकेकाले जवाफ दिन आवश्यक नरहेको भनेका थिए । यतिमात्र भनेका थिएनन् प्रचण्डलाई चिसै पानीमा नुहाउनुपर्नेसम्मको ब्यंग्य वाण प्रहार गरेका थिए ।
ओलीले भनेजस्तै प्रचण्डले चिसो पानीमै नुहाउनुपर्ने भयो । कुलमान हटाउनुमा माओवादीको चित्त दुखेको थाहा पाइयो । तर, प्रधानमन्त्रीको जवाफमा कसरी चित्त बुझ्यो त्यो थाहा पाउन सकिएन । बरु राजावादीविरुद्ध एक हुने नाममा ओलीले उपेन्द्र यादवलाई समेत साथमा लिएर अध्यादेश पास गराए । उनीहरुको भाषामा भन्ने हो प्रचण्डले चिसै पानीले नुहाए । स्वर्ग जाउँ भनेका प्रचण्ड फेरि नर्क पुगे । अहिले ओलीलाई हाईसञ्चो छ ।
४. कुलमानको बर्खास्ती
सरकारले सनककै भरमा एक कर्मचारी हटाएर बहादुरी देखाएको छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई विचौलियाहरुको दबाबमा सात महिनापछि हटाउन शक्तिशाली सरकार सफल भएको छ । यो निर्णयलाई सर्वोच्च अदालतले समेत सदर गरिदिएपछि सरकारलाई झनै हाईसञ्चो भएको छ । यही घटनाले सरकारको प्राथमिता कहाँ छ ? र काम के भइरहेका छन् भन्ने पुष्टि हुन्छ ।
५.रवि लामिछाने
सुरुमा आफैँले पाएको गृह मन्त्रालय समेत दिएर भए पनि एमालेले रास्वपालाई सरकारमा ल्यायो । रास्वपा सभापति रवि लामिछानेका विभिन्न प्रकरण आइरहेकै समय ड्यामेज गराउने नीति ओलीले लिएका थिए । फलतः कांग्रेससँग सत्ता सहकार्य सुरु गरेको केही समयमै उनलाई हिरासतको हावा खुवाए । अहिले पाँच महिनापछि लामिछाने तंग्रिन खोज्दैछन् ।
संसदका दुई ठूला दल मिलेर सरकार बनेपछि सबै प्रतिपक्षीहरु एकीकृत भएका थिए । तर, अहिले राजावादी, गणतन्त्रवादी र मधेशवादीका नाममा प्रतिपक्षी कित्तासमेत विभाजित हुँदा यसको फाइदा ओली र समग्र सरकारले लिइरहेको छ ।
प्रतिक्रिया