राजनीति

सुनिताको धोकापछि हारे बालेन, स्टाटस आएन, अबको रणनीति के ?


काठमाडौं – महानगरपालिका प्रमुख र उपप्रमुख अहिले स्पष्ट दुई धारमा देखिएका छन् । महानगरले पाएको दुई युवा नेतृत्वबीच नै फरक फरक मत हुँदा महानगरले लिने अबको बाटो नै अन्योलमा पर्ने हो कि भन्ने शंशय पैदा गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डङ्गोलको चर्चा निकै हुने गर्छ । दुई युवा नेतृत्व मिलेर महानगर हाँकिरहेको भन्दै उनीहरूको प्रशंसा हुने गरेको थियो । तर, स्वतन्त्र र दलीय आधारमा महानगरनगरको प्रतिनिधित्व गरेका प्रमुख र उपप्रमुखबीचको मतान्तर झण्डै तीन वर्षपछि भने छताछुल्ल भएर बाहिरै पोखिएको छ ।

महानगर प्रमुख बालेनले बिदा दिएका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई बालेनको अनुपस्थितिमा महानगरमा प्रवेश गराएपछि यी दुईबीचको मतभेद सतहमा आएको हो । बालेनको अनुपस्थितिमा बैठक राखेर उपप्रमुख डङ्गोलले गुरागाईंलाई हाजिर गराउन भूमिका मात्रै खेलिनन् कि प्रमुखमाथि नै प्रश्न तेस्र्याइन् । समस्या खडा गरेर त्यसलाई समाधान गर्नुको साटो जवाफ दिनु पर्ने ओहोदामा बसेका प्रमुखले जवाफदेहीतालाई नजरअन्दाज गरेको भन्दै उपप्रमुख डङ्गोलले आक्रोश नै पोखिन् । यसका साथै कोठामा बसेर निर्देशन दिनुभन्दा भौतिक रुपमा आफैँ उपस्थिति भएर समाधानका लागि भूमिका खेल्न चुनौती नै दिएकी छन् ।

महानगरपालिकाका प्रमुख बालेनविरुद्ध उपप्रमुख डङ्गोल खुलेरै बोलेपछि प्रमुखको सचिवालयले पनि त्यसको खण्डन गरेको छ । अहिलेसम्म बालेन वा उनको सचिवालयले सुनिताविरुद्ध बोलेको थिएन । तर बिहीबारको घटनापछि भने पहिलो पटक सुनिताविरुद्ध बालेनको सचिवालयले आवाज उठाएको छ । अनुसन्धानको दायरामा रहेका गुरागाईंलाई डङ्गोल लगायतका वडाध्यक्षहरुको सहयोगमा हाजिर गराएपछि बालेनका स्वकीय सचिव भूपदेव शाहले यसको सम्पूर्ण जिम्मेवारी उनीहरूले नै लिनु पर्ने तर्क गरेका छन् । गुरागाईंलाई हाजिर गराउन जो जति साझोदार भएका छन्, भोलि भ्रष्टाचार मुद्दामा दोषी ठहर भए गुरागाईंसँगै सबै जना जेल जान तयार हुनु पर्ने उनको भनाइ छ ।

बालने र सुनिताबीच देखिएको यो टसल पहिलो घटना भने होइन । उनीहरूबीच भएका भिडन्तका पुराना किस्साहरू पनि छन् । गत फागुन १६ गते पनि बालेनले आफूलाई हराउन भोको पेटलाई निसाना नबनाउन भन्दै प्रधानमन्त्री केपी ओली शर्मा लक्षित टिप्पणी गरेपछि डङ्गोलले आफ्नो कर्तव्य पूरा नगरी अरुलाई आरोप लगाउँदै हिँड्नु उचित नभएको तर्कसहित प्रतिवाद गरेकी थिइन् । यसअघि गत असार १० मा बजेट सार्वजनिक गर्ने दिन महानगरको अधिवेशनमा बालेन र सुनिताबीचको खटपट बाहिरिएको थियो ।

एमाले नेतृत्वसँग लफडा परिरहेका बालेनले नगरसभामा कोही दलको नेता र उपनेताका रूपमा नहुने र कांग्रेस–एमालेको धङधङी बोकेर नआउन भनेको विषयलाई लिएर उपप्रमुखले असन्तुष्टि पोख्दै कडा रुपमा प्रस्तुत भएकी थिइन् । उनले घुमाउरो पारामा आगामी सहकार्य ठीक ढङ्गले जान नसक्ने चेतावनीसमेत दिएकी थिइन् । गत वर्ष भदौ १६ गते राति बालेनले दिएको सिंहदरबार जलाउने धम्कीमा पनि उपप्रमुखले आपत्ति जनाएकी थिइन् । एमाले नेतृत्वसँग बालेनको टकराव भएकै कारण अहिले एमालेबाटै निर्वाचित उपप्रमुख डङ्गोललाई उचालेर बालेनलाई असफल बनाउन खोजिएको चर्चासमेत भइरहेको छ । तर, एमाले नेताले भने यसलाई सिधैँ अस्वीकार गरेका छन् । सबैले आफ्नो कर्मको नतिजा भोग्नु पर्ने र महानगरको हकमा बालेनमाथि त्यही नै भएको एमालेको तर्क छ ।

बालेन र सुनिताको चुनावी प्रचारप्रसार पनि एकअर्का विरुद्ध घोचपेचबाटै भएको थियो । चुनाव प्रचारको कार्यक्रममा सुनिताले मेयर लगायतका पदमा आफ्नो पार्टीले जिते एम्फीथिएटर बनाइदिने र त्यहाँ बालेनलाई कला प्रस्तुत गर्न बोलाउने भन्दै कटाक्ष गरेकी थइिन् । अहिलेसम्म यस्ता सानातिना मनमुटावलाई माझ्दै आएका नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उनीहरूले आफूलाई पुरानाभन्दा फरक सन्देश दिन खोज्दै थिए । अहिले उपप्रमुखको साथमा दलका वडाध्यक्षसहित कर्मचारी देखिँदा बालेनको साथमा नगर प्रहरी मात्रै उभिए । तर प्रमुखसँग जति नै आफूसँग पनि नगर प्रहरी उत्तरदायी हुनु पर्ने तर्क गरेकी सुनिताले नगर प्रहरी प्रमुखलाई त सबैको अगाडि बोली बन्द गरी दिइन् । फलतः शुक्रबार कार्यालयमा सहज रुपमा प्रवेश पाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग नगर प्रहरी प्रमुख राजु पाण्डेले माफी नै मागेका छन् । साथै दल र स्वतन्त्रको खटपटले प्रमुख र उपप्रमुखबीच नै टकराव हुँदा उनीहरूको कित्ता पनि क्लियर गरिदिएको छ ।