Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

योगी आदित्यनाथको फड्को, भारतमा मोदीको उत्तराधिकारी बन्ने चर्चा


यतिबेला भारतको सत्तारुढ दल भाजपाभित्र नरेन्द्र मोदीको उत्तराधिकारी को हुन्छन् भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । यसैबीचमा मोदीका नजिक रहेका योगी आदित्यनाथले आफ्नो दाबीलाई लिएर एक अभिव्यक्ति दिएका छन् ।

अहिले भारतका धेरैजसो चिया पसल, सार्वजनिक सवारीसाधन, हवाई यातायात जस्ता भिडभाड हुने क्षेत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तराधिकारीको विषयलाई लिएर चर्चा र बहस हुन थालेको छ । मोदीको ठाउँ कसले लिने भन्ने प्रश्नमा भारतीयहरुको ध्यान केन्द्रित भएको देखिन्छ । तेस्रो पटक प्रधानमन्त्री बनेका मोदी आगामी वर्ष उमेरले ७५ वर्ष पुग्दैछन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) मा ७५ वर्ष उमेर पुग्ने जो कोहीलाई सेवा निवृत्ति दिने भनेर सन् २०१४ मा मोदी आफैँले नियम बनाएका थिए ।

फलतः ७५ वर्षको संघारमा पुगेका मोदीबारे पनि चर्चा सुरु भएको छ । त्यसपछि उनी के गर्छन् ? भन्ने प्रश्नमा धेरैको चासो छ । यो नियम त मोदी आफैँले बनाएका हुन् । यो नियम पालना गर्ने कि नगर्ने भन्ने कुरा उनीमाथि नै निर्भर रहने छ । त्यसो त भाजपाभित्र मोदीको उत्तराधिकारी को हुन सक्छन् ? यसमा सङ्घको भूमिका के हुन सक्छ ? यो पनि एकातर्फको प्रश्न छ । योगी आदित्यनाथ र अमित शाहबीच मोदीको उत्तराधिकारी बन्न राजनीतिक टकराव चलिरहेको छ । दुबैजना मोदीमा प्रिय पात्र हुन् ।

भाजपाले नयाँ अध्यक्ष चयनको तयारी गरिरहेको अवस्थामा मोदीको उत्तराधिकारी बन्ने होडमा रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री पदका लागि आफ्नो दाबीलाई लिएर एक बयान दिएका छन् । उनले हृदयदेखि नै आफू योगी भएको र राजनीति गर्ने आफ्नो इच्छा नभएको पनि उनले बताएका छन् । आफू उत्तर प्रदेशका जनताको सेवा गर्न मुख्यमन्त्रीको पदमा रहेको र सधैंभरिका लागि राजनीतिमा नआएको पनि स्पष्ट पारे । आफूले त भारतीय जनता पार्टीले दिएको जिम्मेवारी मात्रै पूरा गरिरहेको उल्लेख गरेका छन् । उनले यी सबै कुरा एक अन्तरवार्तामा गरेका हुन् ।
प्रधानमन्त्री पदका लागि आफूले उम्मेदवारी दिएको कुरा पनि उनले अस्वीकार गरेका छन् । उनले भने छन्, ‘म राजनीतिमा कति समय रहन्छु भन्ने कुराको समयसीमा छ ।

म सधैंभरि राजनीतिमा हुन्न ।’ योगीले यसो भन्दै गर्दा पार्टी अध्यक्ष बन्न जबरजस्त ढंगले लागेको पुष्टि हुन्छ । किन कि योगीलाई उनका समर्थकहरूले प्रधानमन्त्री पदको दाबेदारको रूपमा हेरिरहेका छन् । मार्च ३० मा प्रधानमन्त्री मोदीको सङ्घ मुख्यालयको भ्रमणपछि यी छलफलहरू तीव्र भएका छन् । सामाजिक सञ्जालमा भइरहेको चर्चामा मुख्यमन्त्री योगी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र केन्द्रीय मन्त्री नितिन गडकरीलाई प्रधानमन्त्री पदको दाबेदारको रूपमा हेरिएको छ ।

राजनीतिमा धर्म मिसाउनु गलत नभएको आदित्यनाथले बताएका छन् । धर्मलाई केही ठाउँमा सीमित गर्नु र राजनीतिलाई केही मानिसहरूमा छोड्नु गल्ती भएको पनि उनले बताएका छन् । यसले समस्या सिर्जना गर्ने उनको भनाइ छ । राजनीतिको उद्देश्य स्वार्थ पूरा गर्नु नभएर समाजको भलाइ गर्नु भएको उनी बताउँछन् । त्यसैगरी, धर्मको उद्देश्य पनि दान भएको उनले बताए । धर्मलाई स्वार्थी उद्देश्यका लागि प्रयोग गर्न थालेपछि समस्याहरू उत्पन्न हुने, तर उद्देश्य परोपकारी हुँदा धर्मले प्रगतिको बाटो खोल्नेमा उनले जोड दिँदै आएका छन् । धर्मको खोल ओडेर मुख्यमन्त्री पड्काएका आधित्यनाथ हिन्दुत्वको रथमा सवार देखिन्छन् । त्यसो हुँदै गर्दा भारतमा हिन्दु मात्रै होइन मुस्लिम धर्म मान्नेहरु पनि उतिकै संख्यामा छन् । मुस्लिम प्रति कठोर बनेर सधैँ उभिने आदित्यनाथले यदि पार्टीको अध्यक्षमा छलाङ मारे भने के होला ? यो अवस्थामा भारत र अन्य देशलाई कस्तो असर पर्ला ? गम्भीर प्रश्न खडा भएको छ ।

भाजपाको नयाँ अध्यक्ष चयनको विषयले तीव्रता पाइरहेको अवस्थामा मोदीले नागपुरबाट फर्किएपछि वरिष्ठ नेताहरुसँग पनि वार्ता गरेका छन् । भाजपाका वर्तमान अध्यक्ष जेपी नड्डा र संगठनका महामन्त्री बीएल सन्तोषलाई यसै महिनाभित्र अध्यक्षको चुनाव सम्पन्न गर्न मोदीले आग्रह गरिसकेका छन् । भाजपाले अहिलेसम्म १३ राज्यमा प्रदेश अध्यक्ष निर्वाचित गरिसकेको छ । राष्ट्रिय अध्यक्ष चयन गर्न १९ राज्यमा चुनाव सम्पन्न हुनुपर्छ ।

उत्तर प्रदेश, पश्चिम बंगाललगायत बाँकी अधिकांश राज्यका प्रदेश अध्यक्षको नाम अर्को हप्तासम्ममा घोषणा गर्ने तयारी छ । यसको अर्थ ५० प्रतिशत राज्यमा चुनाव सम्पन्न भएपछि राष्ट्रिय अध्यक्षको निर्वाचन हुन सक्छ । हाल केन्द्रीय मन्त्री जेपी नड्डा पार्टीको अध्यक्ष छन् । जेपी नड्डालाई २०१९ मा कार्यकारी अध्यक्ष बनाइएको थियो र जनवरी २०२० मा उनी भाजपाको राष्ट्रिय अध्यक्ष बनेका हुन् । लोकसभा चुनावलाई ध्यानमा राख्दै उनको कार्यकाल जुन २०२४ सम्म बढाइएको थियो । अब उनी केन्द्रीय मन्त्री बनिसकेकाले पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेछ । पार्टीको नियमअनुसार भाजपा अध्यक्षको कार्यकाल ३ वर्षको हुन्छ । कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी पार्टीको अध्यक्ष बन्न सक्दैनन् ।