समाचार

तिनकुने घटनामा २० जनालाई प्रहरीले गोली चलायो


काठमाडौं—गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली २० जनालाई लागेको खुलेको छ। दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वमा राजावादीहरूले गरेको आन्दलनमा हिंसात्मक झडप हुँदा प्रहरीले गोलीसमेत चलाएको थियो ।

त्यसक्रममा १८ जना पुरूष र २ जना महिलासहित २० जनालाई गोली लागेको पुष्टि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेश आचार्यले गरेका छन् ।

राजावादीसँगको झडपका क्रममा ५५ जना नेपाल प्रहरी र २३ जना सशस्त्र प्रहरी घाइते भएको पनि उनले बताएका छन् । झडपका क्रममा अन्य कयौँ घाइते भए पनि सबै विवरण प्राप्त नभएको उनले बताए ।

कोटेश्वरको भाटभटेनी क्षेत्रमा पनि दुईजनालाई गोली लागेकोबारे अनुसन्धान भइरहेको उनले बताए । आचार्यले भाटभटेनी लुट्न पुगेको समूहलाई तितरबितर पार्ने क्रममा त्यस क्षेत्रमा पनि गोली चलेको हुन सक्ने जानकारी दिए ।