राजनीति

भिड्ने मुडमा राजावादी र गणतन्त्रवादी, दुर्गा र प्रचण्डको कमान्डमा कसको जित ?


शुक्रबार अर्थात भोलि राजावादी र गणतन्त्रवादी दुवै पक्ष सडकमा उत्रिँदै छन् । नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चा र दुर्गा प्रसाईं नेतृत्वको समूहले बेग्लाबेग्लै प्रदर्शन गर्न लागेका हुन्। जुँगाको लडाईंजस्तो देखिएको प्रदर्शनलाई सफल बनाउन दुबै पक्ष युद्धस्तरमा खटिएका छन् । आखिर कसरी हुँदै छ त तयारी ?

एकले अर्कालाई देखाइदिने गरी शुक्रबार राजावादी र गणतन्त्रवादी दुवै पक्षले सडक तताउँदै छन् । शक्ति प्रदर्शन भएका कारण दुबै पक्ष युद्धस्तरमै तयारीमा लागिपरेका छन् । जहाँ राजावादीहरुको नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजासँग लामो भेट गरेका थिए । त्यसअघि सुवेदीले पनि ज्ञानेन्द्रसँग छुट्टै भेट गरेका थिए ।

यसले निर्मल निवासको समेत सक्रियता प्रष्ट हुँदा डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको छ । उनीहरुले सामाजिक सन्जालदेखि प्रचारका अन्य सबै उपायलाई समेत अवलम्बन गर्दै सकेजति धेरै संख्यामासडकमा नागरिक उतार्ने तयारी गरेका छन् । आन्दोलन परिचालन समिति अन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहनेछ। साथसाथै आवश्यक उपसमितिहरू गठन भएका छन् ।चैत १६ गते घोडेजात्रा परेकाले कुनै आन्दोलनका कार्यक्रम नरहेको र १७ गतेदेखि निरन्तर आन्दोलनका कार्यक्रम हुनेछन् । जारी विज्ञप्तिलाई हेर्ने हो भने उनीहरु मुठभेडकै लागि तयार भएको अवस्था छ । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेदेखि सशक्त जनआन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

यीमध्ये समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा प्रदर्शन गर्न लाग्दा प्रसाईं नेतृत्वको समूहले राजसंस्था पुनस्र्थापनालगायत एजेन्डा अघि सारेर प्रदर्शन गर्न लागेका हुन्। यी दुबै प्रदर्शनका लागि काठमाडौं प्रशासन कार्यालयले अनुमति दिँदा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा र प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने छन् । दुवै कार्यक्रम शुक्रबार ११ बजेपछि मात्रै सुरू हुनेछ। यतासमाजवादी मोर्चाले विभिन्न ठाउँबाट ¥याली सुरू गर्ने तयारी गरेको छ । बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टे, मैतीदेवी, सुन्धारा, न्यूरोडलगायत क्षेत्रमा भेला भएर भृकुटीमण्डपमा ¥याली गर्ने उनीहरुको कार्यक्रम छ ।

त्यस्तै प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट ¥यालीको तयारी गरिरहेको छ । यसले भिडन्तकै अवस्था बन्ने त होइन भन्ने डर रहँदा काठमाडौँ नै अस्तव्यस्त हुने सम्भावना उच्च छ । यता प्रधानमन्त्री केपी शर्मा ओली भने यसैलाई अझ उत्तेजित पार्ने खालका अभिव्यक्ति दिनमै व्यस्त छन् ।काठमाडौंमा के–के न हुने भनेर त्रास फैलाइएको भन्दै उनले त्यस्तो केही नहुने दाबी गरेका छन् ।दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै हल्का टिप्पणी गरेका उनले तिललाई पहाड बनाउने काम भएको बताएका छन् ।

हुन त निर्मल निवास एमाले र कांग्रेसकै केही नेतासमेत पुगेको चर्चा छ । त्यसबाहेक शुभेच्छुकसँग भेटघाटका लागि ज्ञानेन्द्रको व्यस्तताले समेत राजावादीको आन्दोलनको तयारीबारे अनुमान गर्न सकिने अवस्था छ । यता गणतन्त्रवादीको आन्दोलनमासमेत संख्या देखाउनै पर्ने दबाब छ । फलतः बाहिर भिडेपनि सत्तारुढ एमाले कांग्रेसकै पनि साथ रहने बुझ्न गाह्रो छैन । यस्तै, नेवाः समुदाय राजसंस्थाको पक्षमा छैन भन्दै कांग्रेस, एमाले, माओवादी र जसपाका नेवार नेताहरु एक ठाउँमा उभिएको दृश्यले पनि यसलाई बल पुर्याएको हो ।फलतः प्रतिस्पर्धाको यो रस्साकस्सीले अनपेक्षित अवस्था त निम्त्याउने होइन भन्ने त्रास उत्पन्न हुनु स्वभाविकसमेत छ ।।