राजनीति

प्रचण्डलाई ओलीसँगको पंगा भारी, रवि र बालेन बोक्दा पनि हारे


विगत एक दशकदेखि कम्युनिष्ट ध्रुवका दुई ठूला नेताको नाम लिँदा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै आउँछ । यिनीहरूबीच कम्युनिष्टका ठूला नेता बन्ने मात्रै होडबाजी छैन कि राष्ट्रिय राजनीतिमा पनि प्रतिष्पर्धा छ । तर, आठ महिनाको अवधिमा रणनीतिक रुपमा प्रचण्डभन्दा ओली अगाडि देखिँदा प्रचण्डको नियती हार्नुमात्रै बनेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संसद्मा जादूयी नम्बर हुँदा १८ महिना प्रधानमन्त्रीको कुर्सीमा बस्न सफल भए । पहिलो र दोस्रो दललाई फनफन्ती घुमाएर सत्ताको नेतृत्व गरेका उनी विगत आठ महिनादेखि भने आफैँ घुमिरहेका छन् । आफ्नो सत्ता गुमेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडन्तमा उनी एक पटक होइन पटक पटक मात खाइरहेका छन् । ओलीलाई सवक सिकाउन प्रचण्डले चालेका प्रत्येक युक्ति उनीमाथि नै भारी पर्ने गरेको छ । आफ्नै नेतृत्वको सरकारमा दुई पटक उपप्रधानसहित गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा प्रचण्डले साथ दिए । तर, त्यसलाई उनले पार लगाउन भने सकेनन् । रविको मुद्दा उठाएर पेचिलो बनाउँदै ओलीमाथि प्रहार गरे पनि न रविले न्याय पाए न त ओली सरकारलाई कुनै क्षति नै गर्न सके ।

यस्तै प्रचण्डलाई ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमा बदला लिने राम्रो अवसर मिलेको थियो । तर, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई रिझाउन नसक्दा त्यसमा पनि ओलीसँग हार मान्नुको विकल्प रहेन । प्रचण्डको हरेक कदममा साथ दिँदै आएका उपेन्द्रलाई ओलीले साथमा लिएर ६ मध्ये पाँच वटा अध्यादेश पास गराउन सफल हुँदा प्रचण्ड त्यहाँ पनि चुक्न पुगे । यदि उपेन्द्रले प्रचण्डलाई साथ दिएका भए ओली आफैँले चालेको कदमबाट पछि हट्नु पर्ने स्थिति बन्न सक्थ्यो ।

अहिले फेरि कुलमान घिसिङको मुद्दामा पनि उनले नराम्ररी मात खाएका छन् । तीन पटकसम्म ओलीले वार्ताका लागि बोलाउँदा नगएका प्रचण्ड टीआरसीको मुद्दामा छलफल गर्न सिंहदरबार पुगे । तर, उनी सिंहदरबारबाट निस्कनासाथ प्राधिकरणबाट पनि कुलमानको बगिर्हगमनको बाटो तय भयो । जसलाई कुलमान हटाउन प्रचण्डले नै सहमति दिएको रुपमा अथ्र्याउन ओली सफल भए । यो सत्ता समीकरण बन्दै गर्दा दिउँसोसम्म स्वर्ग भए पनि नर्क गए पनि सँगै जाने भनेर खाएको कसम बेलुकापख ओलीले तोड्दै कांग्रेससँग काँध जोडेका थिए । अहिले फेरि कुलमानको मुद्दाले स्वर्ग जाने चाहनामा प्रचण्डको त्यस्तै हविगत भएको छ ।

विवादित र विपक्षीलाई बल पुग्ने मुद्दा दिने निर्णय गर्न सिपालु देखिएका प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई निमिट्यान्न पार्ने नेताको रुपमा परिचित छन् । पार्टीभित्रै होस् वा बाहिर उनीसँग जोहोरी खोज्ने व्यक्ति राजनीतिमा खास्सै टिकेका छैनन् । यस्तोमा प्रचण्डले कुलमानको बर्खास्तीको मुद्दा बनाएर ओलीको जवाफ माग गर्दै संसद् अवरोध गरिरहेका छन् । संसद् अवरोध गरेर ओलीलाई घुँडा टेकाउने रणनीतिमा देखिएका प्रचण्ड यस पटक पनि पछि पर्ने देखिएको छ । किन भने ओलीले छाती पिटी–पिटी रुँदैमा संसद्मा जवाफ नदिने बरु प्रचण्डलाई उत्ताउलो नहुन सुझाव दिँदै फेरि पनि चिसै पानीले नुहाउनु पर्ने स्पष्ट पारेका छन् ।

प्रचण्डले विपक्षी मोर्चाबन्दी कसिलो बनाउने कोशिस गरे पनि राप्रपासँग शासन व्यवस्था कै विषयमा फरक फरक धार भएकाले फाटो हुँदा त्यो सम्भव हुन सकेको छैन । ओली घेर्न कम्युनिष्टहरूलाई एक ढिक्का गर्दै समाजवादी मोर्चा बनाए पनि उपेन्द्र यादव टाढिँदा यो योजनामा पनि प्रचण्डले मात खाएका छन् । कुलमानलाई हटाएपछि एक ढिक्का जस्तो देखिएको प्रतिपक्षीलाई हातमा लिएर प्रचण्डले पटक पटक स्वर्ग लैजाने बहानामा ओलीले गरेको धोकाधडीको बदला लिन सक्लान् ? त्यो समयले नै बताउने छ । तर, विगत एक दशकदेखि नेपाली राजनीतिमा चतुर राजनीतिक खेलाडीको रुपमा आफूलाई स्थापित गर्दै आएका ओलीले प्रचण्डलाई बारम्बार झट्का दिन सफल भई नै रहेका छन् ।