समाचार

आन्दोलन भड्किन नदिन र शान्तिपूर्ण बनाउन आग्रह


काठमाडौं—मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छन् । राजतन्त्र र गणतन्त्र पक्षधरहरुले गर्न लागेको सडक प्रदर्शनको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरुको भेलाले आन्दोलनका स्वरुपहरुलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षसँग आग्रह गरेका छन् ।

वर्तमान व्यवस्था र व्यवस्थापन दुवैप्रति जनतामा रहेका गुनासाहरु र सोको सुधारका लागि जनताले उठाएका शान्तिपूर्ण आवाजहरुप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई अनियन्त्रित हुन नदिन यथाशीघ्र वार्ता र सहमति, वार्ता र संवादका लागि सरकारलाई अपिल गरिएको छ ।

साथै जनताका शान्तिपूर्ण आवाज र मागहरुविरुद्ध राजनीतिक नेतृत्व तथा सरकारी तहबाट अशिष्ट अभिव्यक्ति तथा प्रतिकारात्मक गतिविधि एवं बल प्रयोग नगर्न पनि उनीहरुले अपिल गरेका छन् । साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकलाई निष्पक्ष तथा विवेकपूर्ण अनुगमनका लागि पनि भेलाले आग्रह गरेको छ ।

‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ ।’ भेलाले गरेको अपिलमा भनिएको छ, ‘हामी तपशीलका विभिन्न संस्था र विधामा आबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौं । यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयं सरकार हुनेछ ।’