Breaking

प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु

योहो संवाददाता

 प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् ।

आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए ।

संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ ।’

उनले अगाडि भने, ‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई ।’

उनले नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न पनि आह्वान गरे । ‘पीडितका घाउमा मलम लगाउन उहाँहरुका आँसु पुछौं र नेपाली जनतालाई निश्चिन्त बनाऔं, अब नेपालमा शान्ति हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताए ।

विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै उनले त्यसमा दुःख व्यक्त गरे ।