अन्तर्राष्ट्रिय

ट्रम्पका कारण अफ्ठ्यारोमा क्यानडा, शक्तिशाली प्रधानमन्त्री छान्न निर्वाचन


क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ तारिखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेका बेला प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले एक हप्तामै मध्यावधि चुनावको घोषणा गरेका हुन् ।

जस्टिन ट्रुडोको राजीनामापछि सत्ता नेतृत्वमा आएका क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले मध्यावधि चुनावको घोषणा गरेका छन् । व्यापार युद्ध र डोनाल्ड ट्रम्पको धम्कीका बीच निर्धारित समयभन्दा अगाडि नै क्यानडामा आगामी अप्रिल २८ मा चुनाव हुने भएको छ । प्रधानमन्त्री कार्नीले अचानक चुनाव घोषणा गरेर सबैलाई चकित पारेका छन् । क्यानडामा सामान्यतः यस वर्षको अक्टोबरमा चुनाव हुनु पर्ने थियो ।

क्यानडाको सत्तारुढ लिबरल पार्टीले प्रमुख विपक्षी कन्जरभेटिभ पार्टीको सामना गर्नेछ । वर्तमान लिबरल पार्टीभन्दा पनि बलियो जनादेश भएको सरकार सुनिश्चित गर्न समयमै चुनावको आह्वान गरेको कार्नीले बताएका छन् । छिमेकी अमेरिकासँगको व्यापार युद्ध र राष्ट्रपति ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउँछु भनेर बारम्बार दिएको अभिव्यक्तिलाई ध्यानमा राख्दै चालिएको यो कदमलाई महत्वपूर्ण मानिएको छ । यी दुवै मोर्चा अमेरिकासँग दृढतापूर्वक लडिरहेको छ ।

आफूहरूमाथि आफ्नो अधिकार स्थापित गर्न सकियोस् भनेर ट्रम्पले क्यानडालाई तोड्न चाहेको पनि प्रधानमन्त्री कार्नीले बताएका छन् । तर आफूहरूले यस्तो हुन नदिनेमा उनले प्रतिबद्धता जनाए । यस्तो अवस्थामा आफ्नो देशलाई साहसी निर्णय लिन बलियो जनादेश आवश्यक परेको पनि उनले बताए । कार्नीले मार्च १४ मा क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । क्यानडाले धेरै मोर्चामा सङ्कटको सामना गरिरहेको बेला उनले देशको बागडोर सम्हालेका थिए । प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि आफ्नो पहिलो सम्बोधनमा कार्नीले वर्तमान समयका चुनौतीहरूको सामना गर्ने सरकार गठन हुने भनेका थिए ।

केही समय अघिसम्म क्यानडाको सत्तारुढ लिबरल पार्टीले हारको खतरा सामना गरिरहेको थियो । तर ट्रम्पले अतिरिक्त भन्सार महसुलको आर्थिक युद्धको घोषणा गरेपछि र क्यानडालाई अमेरिकाको ५१ औँ राज्यको रूपमा गाभ्ने चेतावनी दिएपछि परिस्थिति परिवर्तन हुँदै गएको देखिएको विदेश मामिला र चुनावी मामिलाका विज्ञहरूले दाबी गरिरहेका छन् । बदलिएका समीकरणहरूका कारण चुनावमा लिबरल पार्टीले अग्रता लिने संकेत देखिएको छ । ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका छन् ।

अप्रिल २ देखि सबै क्यानेडियन उत्पादनहरूमा भारी कर लगाउने घोषणा पनि गरेका छन् । जसका कारण अमेरिकासँगको क्यानडाको सम्बन्ध तिक्ततापूर्ण बनेको छ भने सत्तारुढ लिबरल पार्टीले देशको पक्षमा लिएको अडानले घट्दो लोकप्रियताका बीच फेरि जनसमर्थन जुट्दै गएको छ ।

फलतः आफ्नो पार्टीको पक्षमा माहोल बनेकै बेला बलियो जनादेश लिने उद्देश्यले प्रधानमन्त्री कार्नीले मध्यवाधि चुनावमा जाने निर्णय लिएको देखिन्छ । समयअघिको चुनावमार्फत उनले सरकारको स्थिरता कायम गर्न र अमेरिकी नीतिहरूको प्रतिकार गर्न बलियो समर्थन जुटाउने उद्देश्य पनि देखिन्छ । ट्रम्पको पुनरागमन र अमेरिकी नीतिहरूको सम्भावित प्रभावलाई काउन्टर दिन क्यानडाको स्वतन्त्र आर्थिक र सामाजिक नीति अघि बढाउन बलियो समर्थन आवश्यक ठानेका छन् । साथै आन्तरिक रूपमा विपक्षी दलहरूको कमजोर अवस्थाको फाइदा उठाई आफ्नो नेतृत्वलाई थप सुदृढ गर्न र आगामी चुनौतीहरू सामनाका लागि तयारी गर्न यो रणनीति अपनाएको विश्लेषण भइरहेको छ । यसले उनको दूरदर्शी राजनीतिक चाललाई समेत झल्काएको छ ।।
०००