राजनीति

पूर्वराजाका चलाखीपूर्ण ‘मुभ’,विरोधीलाई पनि मुस्कान


पछिल्लो समय दलहरु एकपछि अर्को दवावको सामना गरिरहेका छन् । आफ्नै कर्मका कारण प्रश्नका घेरामा रहेका उनीहरु कहिले स्वतन्त्र उम्मेदवार कहिले वैकल्पिक शक्तिको मारमा पर्दै आएका थिए । अहिले राजावादीको समेत प्रहारमा पर्न थालेका उनीहरु रक्षात्मक बन्नुभन्दा माथि उठ्न सक्ने अवस्थामासमेत छैनन् ।

गणतन्त्र स्थापनाको १६वर्षमै व्यवस्था परिवर्तनको प्रश्न खेप्न बाध्य दलहरु एकपछि अर्को दबाबमा पर्न थालेका छन् । आफ्नै कर्मका कारण प्रतिवादको अवसरसमेत नपाउने अवस्था बन्दा उनीहरु रक्षात्मक बन्नुको विकल्प देखिएको छैन । यसैको पछिल्लो उदाहरण बनेको छ राजावादीहरुको सक्रियता । जहाँ जनमतबाट अनुमोदित भएकाहरु राजा हुन खोजेका कारण राजा फेरि उठ्न खोजेको भाष्य निर्माण भएको छ । अर्थात राजानै आएपछि समस्या समाधान नहुने स्वयम राजावादीकै भाष्यमा प्रष्ट हुँदा त्यसको प्रतिवादमा उत्रन सक्ने हैसियतमा समेत दलहरु छैनन् ।

यता पूर्वराजा ज्ञानेन्द्र भने शालिन र रणनीति ढंगले अघि बढिरहेका छन् । दलका नेतालाई हात समातेर हिँडाउनु पर्ने भएको टिप्पणीकाबीच पूर्वराजाले आफैँ गाडी चलाएर नयाँ सन्देश दिन खोजिरहेका छन् । नेता नागरिकसामु जान नसक्ने अवस्था रहँदा फुलका गुच्छा लिने र नागरिकमै जाने रणनीति पूर्वराजाले रोजेका छन् ।

यसबाहेक उनका एकपछि अर्का हाउभाउ र कार्य समेत अर्थपूर्ण छन् । आफैँ गएर मिडियामाबोल्ने,नागरिकका अभिन्दन स्वीकार गर्ने र गणतन्त्रवादीहरु आक्रामक हुँदा समेत प्रत्युत्तर नदिएर शालीन मुस्कान दिने काम उनले गरिरहेका छन् । यसैबीच राजाका पालामा बोल्न पाइँदैन,सन्चार बन्द हुन्थ्यो भन्ने भाष्य चिर्न खोसिएको मोबाइल नै फिर्ता गराएक छन् ।

अबको राजा पहिलाको जस्तो होइन भन्ने प्रमाणित गर्न लागि परेका उनी बरु नागरिकले प्रहार गरेपनि खप्ने तर नभाग्ने बाटोमै अघि बढेका छन् । यता दलहरु भने न त उनलाई साइजमा ल्याउन सक्ने अवस्थामा छन् न त आफ्नो बानी सुधार्नमै केन्द्रित छन् । बरु पूर्वराजासँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजस्ता पात्रासँगसरकार भिडिरहेको छ ।

४ महिना कार्यकाल बाँकी रहेका उनलाई हटाउन पाए संसारकै ठूलो जित हासिल गर्ने जस्तो गरी ऊर्जामन्त्री अघि बढ्दा उनको कामलाई गणतन्त्रको उपलब्धीका रुपमा व्याख्या गर्ने बुद्धिसमेत नेतृत्वकर्तामा देखिएको छैन । यता यही सरकार आएपछि रवि लामिछाने पक्राउ परे । जसले उल्टै माहोल भाडिँदा उनलाई सहकारी ठगीकोमुख्य पात्रकै रुपमा सरकारले उभ्यायो । तर अहिले न प्रमाणित गर्न सक्यो न त सहकारी पीडितले न्याय नै पाए ।

उल्टै रविको लोकप्रियता बढ्दा राजावादीको सक्रियताकाबीच उनले क्रान्तिका लागि तयार हुन भन्दै सरकारलाई टाउको दुखाईं बनाइदिएका छन् । यता सरकार बालेन्द्र शाहसँग पनिभिडिरहेको छ । काठमाडौँ महानगरपालिकामा कर्मचारी नपठाएर घेराबन्दी गरेको सरकार व्यवस्था परिवर्तनको बहसमा उदाहरण दिन सकिने रवि र बालेन जस्ता पात्रसँगै भिडिरहेको छ ।

हुन त कांग्रेस, एमाले, माओवादी तथा एकीकृत समाजवादीले संघीय गणतन्त्र एवं संघीयताको सुदृढीकरण र संविधान रक्षाका लागि भन्दै कार्यक्रम तय गरिरहेका छन् । त्यस्तै पूर्वराजाको प्रतिकार गर्ने तयारीमा उनीहरु देखिएका छन् । तर यसले उनीहरुको पक्षमा माहोल बढ्ने भन्दा आफैँ चेपुवामा पर्ने अवस्था बन्दा सत्तामै रहेको एमाले व्यवस्थाको रक्षाका लागि सडकमा जानुपर्ने अवस्था अझ रोचक छ । उनीहरुलाई नागरिक सामु लोकप्रिय हुन कसले रोक्यो भन्ने प्रश्न यसले उब्जाउँदा सुध्रिने र जवाफदेही हुने भन्दा भिड्न जाने शैलीमै प्रश्न छ । जसले भाग्नुपर्ने अवस्था पूर्वराजाको भन्दा नेताहरुको चाहिँ आउने त होइन भन्ने बहस सिर्जना गरेको छ । जहाँ आफैँले ल्याएको व्यवस्थामा आफ्नै हातमा डाडुपन्यु रहेको र बलियो सरकार भएकै बेला आफैँ रक्षात्मक हुनुपर्ने अवस्थाले समेत उनीहरुको वास्तविकता र हालत प्रष्ट पारिरहेको छ ।