Breaking

मोदी र सीको सुध्रिएको सम्बन्धले विश्वमै तरंग


नेपालका दुई छिमेकी मुलुक चीन र भारतबीच सधैं सीमा क्षेत्र र व्यापारले तनाव भइरहन्छ । यी दुई छिमेकी मुलुक युद्ध नै लड्न पनि पछि पर्दैनन् । तर पछिल्लो पटक यी दुई मुलुकबीच दुस्मनबाट दोस्तीमा सम्बन्ध परिणत हुँदै गएको छ । विश्व भूराजनीतिले तरंग ल्याएको अवस्थामा यी दुई देशले छुट्टै सन्देश दिएका छन् ।

सभ्यता र संस्कृतिका दृष्टिले भारत र चीनको विशिष्ट पहिचान छ । भारतको गँगा नदीको सभ्यता र चीनको ह्वाङ हो नदीको सभ्यताको लामो इतिहास छ । जुन विकसित हुँदै आजको युगसम्म प्रभावशाली भई फैलिएको हो । वर्तमानमा आर्थिक विकासको क्षेत्रमा अतभूतपूर्व सफलता हासिल गरेका छन् भारत र चीन दुवैले । यति हुँदाहुँदै पनि भारत र चीनबीच लामो समयदेखिको विवादको जरो वैज्ञानिक ढंगले समाधान नगरिएको ३ हजार ४४० किलोमिटर लामो सीमा छ ।

अधिकांश सीमाको निर्धारण खोला, ताल र बाक्लो हिउँ भएको ठाउँमा भएकाले तल–माथि भइरहन्छ र दुई देशका सेनाबीच बेलाबेला झडप हुने गरेको छ । यसका अतिरिक्त दुवै मुलुकले सीमा क्षेत्रमा विभिन्न खाले पूर्वाधारहरु निर्माण गरिरहेका छन् ।

जसले पनि समय समयमा द्वन्द्व सिर्जना गरिरहेको छ । छिमेकी देश भए पनि पानी बाराबारको अवस्थामा छन् यी दुई देश । तर सीमा क्षेत्रमा विभिन्न अवस्थामा झडपमै उत्रिन तयार यी दुई मुलुकबीच सन् २०२५ सम्म आउँदा भने सम्बन्धमा सुधार आएको देखिन्छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा पडकास्टमा दिएको अभिव्यक्तिले भारतमा धेरैको ध्यान आकर्षित गरेको छ ।

सञ्चारमाध्यमबाट टाढा रहन रुचाउने नेताका रूपमा प्रख्यात मोदीका लागि यो निकै लामो अन्तर्वार्ता थियो । ३ घण्टा १७ मिनेट ३३ सेकेण्डको उक्त पडकास्टमा मोदीले विदेश नीतिका विषयमा विस्तृत चर्चा गरेका छन् । तर, चीनप्रति उनको टिप्पणी सबैभन्दा खास छ । जबकि २०२० मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सेनाबीच भएको झडपपछि यी दुई छिमेकीको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

मोदीले द्विपक्षीय सम्बन्ध सुधारमा जोड दिएका छन् र दुई देशको सीमामा सामान्य अवस्था फर्केको बताएका छन् । तथापि, सीमा विवाद कायम छ । मोदीको एक दशकभन्दा लामो शासनकाल र खासगरी लद्दाखको झडपपछि भारतले भन्दै आएको थियो– जबसम्म सीमाको मुद्दा उचित रूपले सम्बोधन हुँदैन, तबसम्म चीनसँगको सम्बन्ध स्थिर बन्न सक्दैन । तर, मोदीले अन्तर्वार्तामा आफू सम्बन्धलाई नयाँ चरणमा लैजान तयार रहेको संकेत गरेका छन् । लामो समयदेखि चीनसँगको सहकार्य बढाउनुपर्ने बताउँदै आएको भारतले सकारात्मक प्रतिक्रिया दिएको हो ।

पछिल्ला महिनाहरूमा भारत–चीन सम्बन्धमा बिना हल्लाखल्ला सुधार आउन थालेको छ । गत अक्टोबरमा दुई पक्षबीच सेनाले लद्दाखवरिपरि सीमा गस्ती सुरु गर्ने विषयमा सहमति भएको थियो । वर्षको अन्त्यमा अनेकौँ उच्चस्तरीय बैठक भए । ब्रिक्स सम्मेलनको साइडलाइनमा मोदी र चिनिया राष्ट्रपति सी जिनपिङबीच भेट भयो ।

जनवरीमा भारत र चीन सिधा हवाई उडान पुनः सुरु गर्न सहमत भए । बहुपक्षीय हिसाबले पनि यी दुई देश साझेदार हुन् । उनीहरूको विश्वव्यापी हित पनि साझा छ । दुवैले गैरपश्चिमा आर्थिक मोडल अँगालेका छन् भने दुवै इस्लामिक आतंकवादको मुकाबिला गरिरहेका छन् । लद्दाख झडपपछि पनि यी दुई देशका सैनिकहरूले नियमित संवाद जारी राखे, जसको नतिजा स्वरूप अक्टोबरमा गस्ती सम्झौता भयो ।

भारत सायद यो सानो सहमतिबाट तयार भएको कूटनीतिक परिस्थितिलाई आर्थिक सहकार्य अघि बढाउने मौकाका रूपमा उपयोग गर्न खोजिरहेको छ । भारत र चीन एसियाका दुई सबैभन्दा ठूला मुलुक पनि हुन् र दुवैले आफूलाई सभ्यतागत राज्य मान्छन् । यसले उनीहरूलाई स्वाभाविक प्रतिस्पर्धी बनाउँछ । तथापि बेइजिङसँग साझेदारी वृद्धिका लागि मोदीले नै वकालत गर्नु अत्यन्त महत्त्वपूर्ण कुरा हो ।

राम्रो द्विपक्षीय सम्बन्धले उनको देशको अर्थतन्त्र बलियो बनाउन सक्छ । भारतले आफ्नो निकटतम छिमेकका चुनौतीमा ध्यान केन्द्रित गर्न सक्छ र महाशक्ति मुलुक बन्ने भारतको आकांक्षाको एउटा प्रमुख बाधा पनि टर्नेछ । त्यति मात्रै होइन विश्व राजनीतिमा उथलपुथलको अवस्था हुँदा यी दुई देशको सकरात्मक सन्देशले पनि विश्वमा हलचल ल्याएको छ ।