राजनीति

पार्टीका वकिलहरुको रोचक भिडन्त, देशभक्त र रिपब्लिकका प्यानल, देशभर दौडिँदै उम्मेदवार (भिडयो)


काठमाडौं—यतिबेला नेपाल कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नेतृत्वमा को पुग्ने भन्ने होडबाजी जोडतोडले चलेको छ । आ–आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका उम्मेदवारहरू जिल्ला जिल्लाको दौडाहा गरिरहेका छन् । केन्द्रमा सरकार सञ्चालन गरिरहेको सत्ता पक्ष र प्रतिपक्षीकै जस्तो समीकरण बारको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा पनि देखिँदा चुनावी माहोल थप रोचक बनेको हो ।

२५ पदका लागि ५७ जनाको उम्मेदवार पर्दा सबैको नजर भने अध्यक्ष र महासचिवको उम्मेदवारीमा परेको छ । २५ मध्ये कांग्रेसले अध्यक्षसहित १२ र एमालेले महासचिवसहित १३ पद लिने सहमति भएको छ । सत्ता पक्षबाट अध्यक्षमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र महासचिवमा नेकपा एमाले निकट प्रोग्रेसिभ प्रोफेसनल लयर्स एशोसियशन (पीपीएलए)का केदार कोइरालासहितको प्यानल बनेको छ ।

जसलाई केन्द्रमा प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक कानुन व्यवसायी सङ्गठनले साथ दिँदा यस गठबन्धनलाई लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूहको नाम दिइएको छ । यो गठबन्धन अहिले स्याङ्जा, पर्वत, तनहुँ, कास्की लगायतका जिल्लाका मतदाता रिझाउन गण्डकी दौडाहामा छ ।