समाचार

आज विश्व क्षयरोग दिवस


काठमाडौं—क्षयरोगको दर घटाउन र उपचारमा पहुँच बढाउन सरकारले पञ्चवर्षीय योजना बनाएर काम गरेपनि हरेक वर्ष झन्डै आधा बिरामी अस्पतालको पहुँचबाहिर रहेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष ६८ हजार पाँच सयको संख्यामा क्षयरोगी थपिन्छन् ।

त्यसमध्ये ३० हजार उपचारमा आउँदैनन् । तथ्यांकअनुसार सबैभन्दा धेरै क्षयरोगी काठमाडौंमै छन् ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ क्षयरोग तथा छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले उपचारमा नआउने बिरामीको संख्या धेरै हुँदा डराउनुपर्ने अवस्था रहेको बताए । उपचारको दायरा बढाउन सकिएन भने क्षयरोग भयावह हुन सक्ने उनको चेतावनी छ ।

हाल नेपालभर क्षयरोग उपचार गर्ने स्वास्थ्य संस्थाहरूको संख्या ६ हजार २४१ रहेको छ । त्यसमध्ये आठ सयवटा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार तथा औषधि वितरण हुँदै आएको छ । सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोगमुक्त गराउने नेपालको अभियान छ । तर, पछिल्लो १० वर्षयता क्षयरोग न्यूनीकरणमा नेपालले गरेको काम सन्तोषजनक नभएको विज्ञहरु बताउँछन् ।