Breaking

सिरहाको औरहीमा दलितमाथि गरिएको विभेदका विषयमा संसदीय समिति गठनको माग


काठमाडौं—नेकपा (एकीकृत समाजवादी) का राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जिल्लाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरे ।

उक्त घट्नाले ६० लाख दलित समूदायलाई अपमानित गरेको उनको भनाइ छ । उनले निर्वाचित प्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो बनाएको बताए ।

यसैबीच, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ राष्ट्रिय सभाबाट पारित भएको छ । विधेयकमाथि संशोधन हाल्न चाहाने सांसदहरुले ७२ घण्टाभित्र संघीय संसद सचिवालयमा ७२ घण्टाभित्र संशोधन हाल्न सक्नेछन् । सरकारले विभिन्न १२ वटा ऐनलाई संशोधन गर्ने भन्दै अध्यादेशको प्रतिस्थापन विधेयक ल्याएको हो ।