लामो समयको मौनतालाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन नेता कार्यकतालाईआग्रह गरेका छन् । उनलेमुख्य रुपमावर्तमान सरकारलाई चेतावनी दिँदै आफूले बोल्दा धेरैको बोली बन्द हुने बताए ।
गुमनाम भएको चर्चाकाबीच शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लामो मौनतालाई तोडेका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका लामिछानेले अदालत परिसरबाट बाहिरिँदै गर्दा लामो मौनता तोडेर मुख खोलेका हुन् । सो क्रममा सञ्चारकर्मीहरुसँग लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन अपिल गरे । उच्च अदालतबाट निस्कने क्रममा लामिछानेले सरकार नांगिएकाले सरकारकै लाज छोप्न आफूलेअदालतहरू धाइरहेको बताए ।उनले अगाडि भनेका छन्, ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडी फर द रेभुलेसन ।’
उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे । सञ्चारकर्मीहरुले तपाईं राजावादी भएको आरोप लागिरहेको छ नि ?भन्ने जिज्ञासा राख्दा हेडलाइनको पछि नलाग्न र यहाँ कुरो लाइफलाइनको चलिरहेको जवाफ दिए । राजा कि गणतन्त्रको पक्षमा भन्ने अर्को प्रश्नमा समेत उनले मूर्त जवाफ दिएनन् । लामिछानेले पछिल्लो समय राजावादी सल्बलाएको सन्दर्भमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन् । बरु घुमाउरो पारामा सरकारमाथि नै जाई लाग्ने गरेका छन् । उनले अहिले आफू आवेग र उत्तेजनामा नभएको पनि प्रष्ट पारे ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेका देखिन्छन् । उनले राजावादीको सक्रियता र वर्तमान सरकारको अवस्थालाई पनि सुक्ष्म ढंगले हेरिरहेको बुझ्न सकिन्छ । फलतः क्रान्तिको समय आउँदै गरेको र त्यसका लागि तयार रहन नेता तथा कार्यकर्तालाई अपिल गरेको विषयले संकेत गरेको छ । सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा झेली रहेका उनी पछिल्लो समय मौन बस्दा समर्थकहरुमा भने उनी कहाँ छन्, के गर्दैछन् भन्ने चासो बढिरहेको थियो । विभिन्न जिल्ला अदालतमा तारिख धाइरहे पनि सार्वजनिक अभिव्यक्ति नदिएका उनले शुक्रबार भने संक्षिप्त प्रतिक्रिया दिएका हुन् । यसअघि रुपन्देही अदालत बाहिर पनि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका थिए ।
उनी पछिल्लो समयकसै प्रति आरोप र उत्तेजित नभई हरेक प्रश्नको जवाफमासंयमित देखिन्छन् । भूमिगत जस्तै बनेका उनी बोलेरभन्दा पनि आन्तरिक रुपमा खेलेर आफ्नो मुद्दा चाँडो किनारा लगाउने रणनीतिमा देखिन्छन् । यसका बाबजुदरास्वपाका नेता कार्यकताले भने सरकारमाथि निरन्तर प्रहार गरिरहेका छन् । उनीहरुले हाल सभापति लामिछानेमाथि प्रतिशोधको नारा कम गरे पनि सरकारको कमजोरीमा भने खरो रुपमा आवाज उठाइरहेका छन् ।
भुटानी शरणार्थी काण्डमा धरौटीमा छुटेका पूर्वगृहमन्त्री बालकृष्ण खाण अहिले शेखर कोइरालाको बुइँ चढेर विस्तारै राजनीतिमा फर्किने तयारीमा छन् । तर लामिछाने भने धरौटीमा रिहा हुँदा पनि पार्टी र मूल राजनीतिमा निष्क्रिय जस्तै देखिन्छन् । यसले लामिछाने तर्सिएका हुन् कि आन्तरिक तथा रणनीतिक योजनाको तयारीमा छन् ? प्रश्न उब्जिएको छ ।सहकारी प्रकणमा चार जिल्लामा मुद्दा दर्ता भई धरौटीमा रिहा भए पनि लामिछानेविरुद्ध पर्सामा मुद्दा दर्ता नै हुन सकेको छैन । पाँच जिल्लामा एकै पटक प्रहरी र सरकारी वकिल कार्यालयले अनुसन्धान गरे पनि पोखरा, काठमाडौं, चितवन र रुपन्देहीबाट धरौटीमा छुटे पनि पर्सामा भने उनको मुद्दा अड्काइएको छ । यसलाई सरकारले लामिछानेलाई काबुमा राख्न लगाम लगाएको अर्थमा समेत हेरिएको छ ।
प्रतिक्रिया