नाटकीय रुपमा छ घण्टा लामो सुरक्षा अवरोध पछि दक्षिण कोरियाली प्रहरीले निलम्बित राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्ने प्रयासलाई फिर्ता लिएको छ । सेना र यूनको सुरक्षा सेवा अधिकारीहरूले मानव पर्खाल बनाएर पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई रोक्न सडकमा सवारी साधनहरु राखेर अवरोध गरेका थिए । गत डिसेम्बरको सुरुमा मार्शल ल लागू गर्ने कदमसँगै विद्रोहलाई उक्साएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
दक्षिण कोरियामा राजनीतिक संकट झन्झन् गहिरिँदै गएको छ । यतिबेला महाभियोगको सामना गरिरहेका निलम्बित राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न अनुसन्धानकर्ताहरूलाई निकै गाह्रो भइरहेको छ । अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी टोली येओललाई पक्राउ गर्न पुगेका थिए । तर येओलका सुरक्षाकर्मी र प्रहरी टोलीबीच झडप भयो । जसका कारण प्रहरी टोली येओललाई पक्राउ गर्नबाट पछि हटेको छ । अर्थात अहिलेसम्म उनलाई पक्राउ गर्न सकिएको छैन । यसअघि बिहीबार पनि अनुसन्धानकर्ताहरू येओललाई पक्राउ गर्न पुगेका थिए । तर उनका समर्थकहरूले उनीहरूलाई येओलको निवासमा छिर्न दिएनन् । पक्राउ पुर्जीलाई गैरकानुनी र अवैधानिक भन्दै यसअघि नै येओलको कानुनी समूहले कानुनी सहायता लिने बताएका थिए । यसरी बारम्बार रित्तो हात फर्किन बाध्य भएपछि अपदस्थ राष्ट्रपति येओललाई समात्ने प्रयास अहिलेलाई स्थगित गरिएको छ ।
येओललाई पक्राउ गर्न भनेर गएका अनुसन्धानकर्ताहरूलाई ६ घन्टासम्म येओलका सुरक्षा टोलीले निवास भित्र छिर्न नदिएपछि उनीहरू रित्तो हात फर्किएका हुन् । उनलाई समात्न व्यवहारिक रूपमा सम्भव छैन भन्नेमा आफूहरू निश्चिन्त रहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले भनेको छ । हालको वारेन्टको म्याद सकिनुअघि उनलाई पक्राउ गर्न अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको मात्र समय छ ।
डिसेम्बर ३ मा ६ घन्टा मार्शल ल लगाउने येओलको प्रयासमाथि सीआईओले छानबिन गरिरहेको छ । येओलले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको पनि कार्यालयले बताएको छ । कयौँ दिनदेखि येओलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन् ।
भुईंमा बसेर धर्ना दिइरहेकाहरूको सुरक्षालाई ध्यानमा राखेर अहिलेका लागि अपदस्थ राष्ट्रपतिलाई समात्ने काम स्थगित गरिएको सीआईआले भनेको छ । येओललाई समात्नका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको मात्रै म्याद रहेकाले त्यो दिनपछि पक्राउका लागि प्राप्त अनुमति सकिनेछ । शुक्रबार बिहानैदेखि मध्य सोलमा रहेको येओलको आवासबाहिरको सडकमा दर्जनौँ प्रहरीको गाडी लामबद्ध भएर बसेका थिए । तर यूनलाई पक्राउ गर्नबाट पछि हटेको अनुसन्धानकर्ताको टोलीले फेरि गिरफ्तारको प्रयास गर्न सक्ने सम्भावना छ । यद्यपि, यूनको पक्राउ गर्न सहज नहुने र उनको समर्थनमा थप भिड बढ्न सक्ने सम्भावना रहेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । यो पक्राउ पुर्जीको म्याद गुज्रेको अवस्थामा भने अनुसन्धानकर्ता पक्षले फेरि नयाँ पक्राउ पुर्जी लिन सक्ने र फेरि हिरासतमा लिने प्रयास गर्न सक्नेछन् ।
३ डिसेम्बरमा मार्शल लको प्रयासपछि दक्षिण कोरियामा राजनीतिक उथलपुुथलको अवस्था आएको हो । यूनका पक्षका समर्थक र उनलाई हटाउन खोज्नेहरूबीच संसदमा व्यापक चर्काचर्कीसमेत भइरहेको छ । गत डिसेम्बर १४ मा सांसदहरुले उनीमाथि महाभियोग लगाउन मतदान गरेका थिए । यसपछि उनी आफ्नो पदीय जिम्मेवारीबाट निलम्बित भएका थिए । निलम्बनमा रहेका उनलाई संवैधानिक अदालतको फैसलाबाट मात्रै पदबाट हटाउन सकिने छ । जसका कारण दक्षिण कोरियामा जारी शक्ति संघर्ष अझै चर्किने सम्भावना देखिन्छ । यसक्रममा उत्तर कोरियाले समेत प्रतिक्रिया जनाउँदै दक्षिण कोरियामा राजनीतिक अराजकताको स्थिति बनेको बताएको छ ।
प्रतिक्रिया