Breaking

चाकुको बासनाले मगमग टोखा, व्यक्तिले धानिरहेको पुख्र्यौली उद्योग


काठमाडौँ – चाकुका लागि प्रसिद्ध काठमाडौंको टोखाका व्यवसायीलाई चाकु बनाउने चटारोले छोपेको छ । माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा चाकुको माग बढेसँगै टोखाका व्यवसायीलाई अहिले भ्याइ नभ्याइ भएको हो ।

काठमाडौंको उत्तरी भेगमा पर्ने प्राचीन सहरहरूमध्ये एक टोखा नगरपालिकाको २ र ३ नम्बर वडा यतिखेर चाकुको बासनाले मगमगाइरहेको छ । विगत दुई महिनादेखि चाकु उत्पादन गर्ने उद्यमीहरूलाई चाकु बनाउने चटारोले झ्याप्पै छोप्दा उनीहरुलाई भ्याइ नभ्याइ भइरहेको छ । विशेष गरी माघे संक्रान्तिमा काठमाडौं उपत्यका लगायत देशैभर चाकुको माग बढी हुने भएकाले टोखाका उद्यमीहरू निकै व्यस्त हुने गर्छन् । सख्खर पकाउनेदेखि त्यसलाई चाकुको आकार दिई मसला हाल्ने र ब्राण्डिङसहित प्याकिङ गरी बजारसम्म पु¥याउने काममा टोखाका उद्यमीहरूलाई भ्याइ–नभ्याइ भइरहेको छ ।

प्रत्येक वर्ष माघ १ गते मनाइने पर्वमा घिउ र चाकु दुई परिकार निकै महत्वपूर्ण मानिन्छन् । चिसो मौसममा चाकु खाँदा शरीर न्यानो हुने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले माघे संक्रान्तिमा चाकुको माग उच्च हुने गर्छ । चाकुसँगै सख्खरबाटै बत्रे कालो तिल र सेतो तिलको लड्डु पनि अनिवार्य जस्तै भइसकेको छ । त्यसैले चाकु बनाउनेहरूको दैनिकी अहिले यसैमा बितिरहेको छ ।


‘टोखा’ जसलाई चाकुको नगरीसमेत भनेर चिनिन्छ । यहाँ अहिले एक दर्जनभन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । टोखा परम्परागत चाकु संरक्षण समाजले १४ वटा उद्योगलाई एउटै छातामुनि ल्याउने कामसँगै ब्राण्डिङसमेत गरिरहेको छ । समाजले स्वच्छतासँगै मौलिक परम्परागत शैलीमा चाकु निर्माणमा जोड दिँदै आएको छ । चाकु उत्पादनमा विगत चार पुस्तादेखि लाग्दै आएका कृष्णबहादुर श्रेष्ठका अनुसार अहिले समाजमा आबद्ध उद्योगहरूले उत्पादन गरेका चाकु देशका ७७ वटै जिल्लामा पुग्ने गरेको छ । आफूहरूले उत्पादन गरेको चाकुको माग स्वदेशमा मात्रै नभएर अष्ट्रेलिया, अमेरिका, जापान लगायतका देशहरूबाट पनि आउने गरेको श्रेष्ठ बताउँछन् ।

एक दिन मनाइने माघे संक्रान्ति पर्वले दुई महिनासम्म सयौंलाई खान, बस्नसहितको रोजगारी दिइरहेको छ । साथै, यस अवधिमा २५ देखि ३० लाख लगानी गर्दा जम्मा पाँच÷छ लाख मुनाफा हुने उद्यमीहरुको भनाइ छ । तर, सबै क्षेत्रमा जस्तै चाकु उत्पादनमा पनि आगामी दिनमा पुस्तान्तरणको कमी हुने देखिन्छ । अहिले नै टोखामा चाकु बनाउने जनशक्तिको कमी हुँदा छिमेकी जिल्ला नुवाकोट, काभ्रेबाट ल्याउनु पर्ने अवस्था छ । अहिलेसम्म परम्परागत शैली र व्यक्तिगत रूपमै जसोतसो चाकु उत्पादनको कार्यले धानिरहेको उनीहरुको भनाइ छ । उद्योगीहरूको प्रवर्धन र नयाँ पुस्तालाई पनि यसतर्फ आकर्षित गर्न तीन वटै सरकारले अनुदान लगायत विशेष कार्यक्रम ल्यान आवश्यक रहेको उद्यमीहरुको भनाइ छ । संस्कृतको सुश्रुत संहितामा उल्लेख गरिए अनुसार विभिन्न १८ कलामध्ये उखुको रसबाट चाकु बनाउने कलालाई पनि एक मानिएको छ । चाकु पेलेर, फिटेर बनाउने जुन परम्परा विद्यमान छ, यो मानव इतिहासको प्राचीन कला हो ।

जुन कलालाई टोखा परम्परागत चाकु संरक्षण समाजले जीवन्त राखेको छ । चाकुसम्बन्धी पाक कलालाई प्राथमिकता दिएर भारतमा उद्योगका रुपमा विकास गरिएको छ । तर नेपालमा भने निश्चित एउटा समुदालयले मात्रै यो पेसा धानिरहेको अवस्था छ । यसलाई थप प्रवद्र्धन गर्दै टोखालाई चाकु कला शहरका रुपमा संरक्षण गरी राष्ट्रिय प्राचीन कलाका रुपमा विश्वसामु चिनाउन सके अर्थतन्त्रका साथै रोजगारीमा समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।