अन्तर्राष्ट्रिय

सिरियाको संकटमा भिड्दै शक्ति राष्ट्र, चीन र अमेरिकाले के भने ?


देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल–असद मस्को पुगेका छन् । रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले शरण दिएको छ । सिरियाको गृहयुद्धले यतिबेला विभिन्न शक्तिराष्ट्रहरुले टिक्का टिप्पणी गर्न थालेका छन् ।

देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । विद्रोही समूहको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूसको शरणमा पुगेका हुन् । असद र उनको परिवारलाई रूसले ‘मानवीय आधारमा’ शरण दिएको जनाएको छन् । क्रेमलिनका प्रवक्ताले राष्ट्रपति भ्लादिमिर पुटिनले व्यक्तिगत रुपमा असद र उनको परिवारलाई शरण दिने निर्णय लिएको बताएका छन् । यद्यपि, असद अहिले कुन ठाउँमा छन् भन्नेबारे भने उनले खुलाउन नचाहेको बीबीसीले उल्लेख गरेको छ ।
विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) सहित विद्रोही समूहले आइतबार बिहान सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका हुन् ।

यो घटनाले रणनीतिक रूपमा महत्वपूर्ण पश्चिम एसियामा शक्ति सन्तुलन फेरिने संकेत गरेको छ । सिरियाको गृह युुद्ध र पछिल्लो घटना क्रमलाई शक्ति राष्ट्रहरुलेसमेत नजिकबाट नियालिरहेका छन् । यो मामिलामा शक्ति राष्ट्र अमेरिकादेखि चीन, रुससम्मले आ–आफ्नो धारणा राखेका छन् । चीनले दशकौं लामो असद वंशको शासन अन्त्य पछि सिरियामा राजनीतिक समाधान खोज्न ‘सम्बन्धित सबै पक्षलाई’ आग्रह गरेको छ ।

बेइजिङले हालैका वर्षहरूमा सिरियासँगको सम्बन्धलाई मजबुत बनाएको छ र असदले सन् २०११ मा गृहयुद्ध सुरु भएयता मध्यपूर्व बाहिर दुर्लभ राजकीय भ्रमणका क्रममा गत वर्ष चीनको भ्रमण गरेका थिए । सोमबार उनलाई पदच्युत गरिएकोबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले ‘सिरियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ बताएकी थिइन् ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले असद सरकारको पतनलाई न्यायको कार्य भनेका छन् । यसैबीच बाइडेनले सिरियामा अमेरिकाले नजर राखिरहेको र यसले मध्यपूर्वमा शक्ति सन्तुलनमा परिवर्तन भएको बताएका छन् । सिरियामा अमेरिकी सेनाको उपस्थिति कायम राख्ने संकेत पनि बाइडेनले गरेका छन् ।

यता रुसको विदेश मन्त्रालयले पनि मस्कोले “सिरियाको नाटकीय घटनाक्रमलाई ज्यादै चिन्तापूर्वक नियालिरहेको“ जनाएको छ । एकातिर असदको सत्ता ढल्नु रुसको सम्मानमासमेत धक्का लाग्नु हो । सन् २०१५ मा राष्ट्रपति असदलाई समर्थन गर्न मस्कोले हजारौँ सैनिक सिरियामा पठाएको थियो । त्यसो गर्नुको एउटै उद्देश्य आफूलाई विश्व शक्तिका रूपमा प्रस्तुत गर्नु पनि थियो । तर त्यो भने हुन सकेन । यसमा अमेरिकाको जित भएको छ । मध्यपूर्वमा असद रुसको सबैभन्दा प्रमुख समर्थक थिए । क्रेम्लिनले उनीमाथि ठूलो लगानी गरेको थियो ।
त्यसो त सिरियामा बसर अल असदको मात्रै शासन सत्ता ढलेको होइन । असद परिवारकै पाँच दशकभन्दा बढी समयदेखिको तानाशाही शासनसमेत समाप्त भएको छ । सन् १९७० को अन्त्यतिर बसर अल असदका पिता हफिज अल असदले कू गरे आफ्नो वंशको एकतन्त्रयि शासन सुरु गरेका थिए । त्यो शासनलार्य सन् २०११ मा सुरु भएको भीषण गृहयुद्धले समेत ढाल्न सकेको थिएन । विभिन्न अन्तर्राष्ट्रिय नाकाबन्दीका साथै दबाबका बाबजुद पनि बसर अल असदले आफ्नो पिताले सुरु गरेको एकतन्त्रीय शासनलाई टिकाउन सफल भएका थिए । तर १३ वर्षसम्म चलेको गृह युद्ध धान्दै आएका असदले पछिल्लो घटनाक्रममा कुनै विदेशी शक्तिको प्रत्यक्ष संलग्नता बिनै विद्रोही समूहले चर्काएको आक्रमणका सामु ११ दिन टिक्न सकेनन् ।
पिता हफिजको निधनपछि सन् २००० मा बसर अल असद सत्तामा आएका थिए । बसरविरुद्ध युद्ध छेडेका विद्रोहीलाई क–कसले सहयोग गरे भन्ने अहिलेसम्म खुलेको छैन । टर्कीले चलाएको समूहका साथै सिरियाको मुख्य विद्रोही समूह हयात तहरिर अल शामलाई बाह्य शक्तिबाट समर्थन मिलेको विश्लेषण भइरहेको छ । विद्रोही समूहको सामना गर्न बसरले रुस र इरानसँग सहयोग मागे पनि युक्रेनविरुद्ध लडाइँ लडिरहेको रुसले पहिलो जस्तो सहयोग गर्ने अवस्था बन्न सकेन भने इजरायलको धम्कीपूर्ण दबाबमा रहेको इरानले पनि साथ दिन सकेन ।

जसका कारण विद्रोहीले देशका सबै क्षेत्रमा कब्जा जमाउँदै राजधानी दमास्कसलाई नै आफ्नो नियन्त्रणमा लिए । विद्रोहीले दमास्कसलाई नियन्त्रणमा लिँदै गर्दा देश छाडेर असद भाग्न सफल भए भने उनका प्रधानमन्त्री मोहम्मद गाजी जलालीले भिडियो सन्देशमार्फत कार्यभार सुम्पन तयार रहेको बताइसकेका छन् । असदको शासन अन्त्य भएसँगै रुसले सिरियामाथि कस्तो व्यवहार गर्छ ? भन्ने प्रश्न जोड्दार रुपमा उठेको छ ।

असद रुस पुुगेसंगै सिरियामा कस्तो सरकार बन्छ ? र कसले नेतृत्व गर्छ भन्ने अहिले नै निश्चित भइसकेको छैन । तानाशाही असद वंशको शासन अन्त्य भएर सिरियामा आगामी दिनमा शान्तिपूर्ण बिहादी उदाउने अपेक्षा गरिएको छ । अर्कातर्फ बसरविरुद्ध लडेका विभिन्न विद्रोही समहहरु नै आपसमा लड्न सक्ने सम्भावना पनि उत्तिकै छ । यद्यपि, अमेरिका, इजरायललगायतका शक्ति राष्ट्रभन्दा पनि विद्रोही समूहमध्ये सबैभन्दा बलियो हयात तहरिर अल शामको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छ । यसका लागि भने सो समूहको नेतृत्व गर्ने अबु मोहम्मद अल जोलानीमा निर्भर रहने देखिन्छ । उनले आफ्नो लडाकु समूहलाई संयम अपनाउन निर्देशन दिँदै उदारवादी रहेको सन्देश प्रवाह गर्न खोजेका छन् । तर उनले सत्ताको नेतृत्व गर्ने अवसर पाए उदारवादी नै भएर सरकार चलाउँछन् वा निरंकुश बन्छन्, त्यो भने हेर्न बाँकी छ । साथै उनका अतिवादी लडाकु र अन्य विद्रोही समूह उदारवादी रुपमा प्रस्तुत हुन तयार हुन्छन् वा हुँदैनन् ? त्यसले पनि सिरियाको शान्तिपूर्ण भविष्यका लागि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।।