Breaking

बंगलादेशको आन्दोलन भयावह, हसिनाले कफ्र्यु लगाएर सेना उतारिन, नेट–फोन काटियो, विद्यार्थीनै मारिए (भिडियोसहित)


काठमाडौँ— बंगलादेशमा सरकारी कोटाका लागि व्यवस्था गरिएको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिएको छ । भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यूको घोषणा नै गरेको छ । अहिलेसम्म एकसय भन्दा धेरैले ज्यान गुमाएको जनाइएको छ । यद्यपी सञ्चार सेवा अवरुद्ध भएकोले हताहतीको यकिन विवरण आइसकेको छैन् ।

बंगलादेशमा आरक्षण कोटा विरुद्धको आन्दोलनले उग्र रुप लिएको छ । केही सातादेखि आरक्षण कोटा खारेजीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुको आन्दोलन हिंसात्मक बनेपछि भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । राजधानी ढाकालगायत धेरै शहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ ।
विश्वविद्यालयका क्याम्पसमा शान्तिपूर्ण विरोधका रूपमा सुरु भएको प्रदर्शन यतिबेला भुसको आँगो झै फैलिएर देशव्यापी अस्थिरताको कारक बनेको छ । शुक्रवारदेखि हिंस्रक रुप लिएको आन्दोलनमाअहिलेसम्म एकसय जना भन्दा धेरैले ज्यान गुमाएको बीबीसी बंगलाले जनाएको छ। यद्यपी सञ्चार सेवा करिब पूर्ण रूपले अवरुद्ध भएकोले हताहती भएकाको विवरण पाउन कठिनाई भइरहेको उल्लेख छ।शुक्रबार प्रदर्शनकारीहरुले एक जेल तोडेर ८५० कैदी निकालेर आगो लगाएका थिए ।सरकारी टेलिभिजनको समाचारसँग असन्तुष्ट समूहले बिहीबार टेलिभिजनमा आगजनी पनि गरेका थिए । अहिले हिंसालाई रोक्न भन्दै देशका विभिन्न स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ ।
१७ करोड जनसङ्ख्या भएको दक्षिण एशियाली देशका लागि सडक प्रदर्शन नयाँ विषय भने होइन् तर पछिल्लो साताका प्रदर्शनभने सबैभन्दा भड्कीलो रहेको र यसले बाङ्गलादेश सङ्कटमा रहेको विश्लेषण भएकोछ । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुन लडाइँ लडेकाहरूका आफन्तका लागि आरक्षित गरिएको सार्वजनिक क्षेत्रको एक तिहाइ कोटाको विरोधमा उनीहरूले प्रदर्शनी गर्दै आएकाछन् । विद्यार्थीहरूले उक्त प्रणालीलाई भेदभावपूर्ण भन्दै क्षमताका आधारमा भर्ना गर्न माग गर्दै आएकाछन् ।

विभिन्न आकलनका अनुसार झण्डै १ करोड ८० लाख बाङ्लादेशीहरू जागिरको खोजीमा रहेका छन्।कम पढेका मानिसहरू भन्दा विश्वविद्यालयको पढाइ पूरा गरेकाहरूमा उच्च बेरोजगारी दर रहेको पाइन्छ।पछिल्ला महिनाहरूमा बाङ्लादेशमा सामाजिक सञ्जालमा हुने चर्चामा प्रधानमन्त्री शेख हसिनाका पूर्व शीर्ष अधिकारीहरूलाई यसको जिम्मेवार ठहराईएको छ।
शेख हसिना पछिल्ला वर्षहरूमा निरङ्कुश बन्दै गएको आरोप छेडिएको छ । उनिमाथि सरकरको आलोचक र मिडियालाई व्यापक रुपमा दबाएको आरोप छ । बंगलादेशमा १५ बर्षदेखि सत्ताको बागडोर प्रधानमन्त्रीको हैसियतमा हसिनाले चलाउँदै आएकीछिन् ।यो आन्दोलनले डेढ दशक देखि सत्तामा रहेकी हसिनाको पसिना छुटेको छ।
चौतर्फी दबाब बढिरहेको अवस्थामा सत्तारुढ दलबाटै प्रतिकार हुनुले आन्दोलनले हिंसात्मक रुप लिएको टिप्पणी भइरहेको छ ।विश्व ब्याङ्कको अनुमान अनुसार पछिल्लो २० वर्षमा २ करोड ५० लाखभन्दा धेरै मानिसहरू गरिबीमुक्त भएकाछन् । यद्यपि धेरैको बुझाइमा त्यस्ता केही वृद्धिका सूचकबाट सन् २००९ यता शक्तिमा रहेकी हसिनाको अवामी लीग आसपास रहनेलाई मात्र फाइदा पुगेको विश्लेषण भएकोछ।

हिंसा भड्एिपछि अहिले बाङ्ग्लादेशबाट त्यहाँ बसोबास गर्ने विद्यार्थीहरु आ–आफ्ना थाकथलो फर्किएकाछन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै बंगलादेशमा रहेका सवै नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जनाएको छ । बंगलादेशमा सरकारी जागिरमा विभिन्न समूहलाई लक्षित गरी ५६ प्रतिशत आरक्षण कोटा छुट्टाइएको छ । जहाँ सन् ९१७१ मा पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्र बनाउने आन्दोलनमा लडेका व्यक्तिको सन्तानका लागि ३० प्रतिशत, महिलाका लागि १० प्रतिशत, जनसङ्ख्याको आधारमा जिल्लाका लागि १० प्रतिशत, अल्पसंख्यक जातिका लागि ५ प्रतिशत र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई १ प्रतिशत छुट्याएको छ । जसका कारण ४४ प्रतिशत मात्र खुला प्रतिस्पर्धा हुने गर्छ । सन् १९७२ देखि लागु यो कोटा प्रणाली सुधारको माग गर्दै पटक पटक विरोध प्रर्दशन हुँदै आएको छ ।
शेख हसिना नेतृत्वको सरकारले सन् २०१८ मा आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत जुनमा त्यहाँको अदालतले आरक्षण कोटालाई पुनस्र्थापनाको आदेश दिएपछि जुलाई १ तारिखदेखि विद्यार्थीहरु फेरि आन्दोलित भएका हुन् । पुनः बंगलादेशको उच्च अदालतले आरक्षण प्रणालीलाई गत साता निलम्बन गरेको थियो । तर यो प्रणाली स्थायी रूपमा नै खारेजीको माग गर्दै विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।