काठमाडौँ— भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।
आईक्यु एअरले आज काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।
आज सबैभन्दा प्रदूषित शहर पोखरा, २४ घन्टामा भरतपुर धेरै
वातावरण विभागको तथ्यांकअनुसार आज सबैभन्दा बढी प्रदूषित शहर पोखरा बनेको छ । विभागले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकअनुसार पोखराको १९३ एक्युआई वायु गुणस्तर मापन भएको छ ।
आज प्रदूषित शहरमा पोखरा पछि काठमाडौं दोस्रो स्थानमा छ । वातावरण विभागका अनुसार आज काठमाडौंको शंखपार्कमा भएको वायु गुणस्तर मापन केन्द्रले १८३ एक्युआई मापन गरेको छ । पछिल्लो २४ घन्टामा पहिलो स्थानमा रहेको भरतपुतर चितवन आज भने १५९ एक्युआईसहित तेस्रो स्थानमा छ ।
विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।
प्रतिक्रिया