Breaking

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो : सभामुख घिमिरे


काठमाडौँ— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र जनपतिनिधिहरूको चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज संसद भवनमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उनले बीमा कार्यक्रम राम्रो भए पनि यसलाई भ्रष्टाचारको माध्यम बनाइएको आरोप लगाए ।

‘स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन,’ सभामुख घिमिरेले भने ।

उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा पनि राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए । चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरेको धारणा थियो ।

उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रममा समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन् । उनले क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठयक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शिर्ष नेताहरूको ध्यानाकर्षण गराए । काठमाडौ‌ उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै उनले त्यसमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने बताए ।