Breaking

एमालेलाई पछि पार्दै माओवादी पहिलो दल, ओलीलाई साइजमा ल्याउने माधवको धोको पूरा, कांग्रेसलाई राहत


काठमाडौँ – आम निर्वाचनमा तेस्रो दलको हैसियतमा रहेर देशको नेतृत्व गरिरहेको नेकपा माओवादी राष्ट्रिय सभामा पहिलो दल बन्दैछ ।

कम्युनिष्ट पार्टीहरुबीचको एकतापछि बनेको नेकपाका कारण केही चेपुवामा परेको कांग्रेस पनि बिस्तारै तंग्रिदैछ । अधोगतितिर भने एमाले देखिन्छ । यसो हुँदा एकीकृत समाजवादी र एमालेको हैसियत लगभग बराबर हुनेछ । फागुन २१ गतेदेखि कसको हैसियत कस्तो बन्दैछ ?

फागुन २१ गतेदेखि नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल बन्दैछ । यतिसम्म कि अहिले सबैभन्दा ठूलो शक्ति नेकपा एमाले तेश्रो शक्तिमा खुम्चिँदैछ । माघ ११ गते निर्वाचन हुने भए पनि जनप्रतिनिधिले भोट हाल्ने भएकाले परिणाम धेरै हदसम्म पहिल्यै आकलन गर्न सकिने अवस्था छ । यही परिदृश्यलाई हेर्दा मोओवादी पहिलो दल बन्ने निश्चित छ । यद्यपि प्रतिनिधिसभामा भने ३२ सिटसहित माओवादी तेश्रो दल हो ।

पहिलो र दोश्रो शक्तिको अर्कमण्यताको परिणामले तेश्रो दलबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । माओवादी केन्द्रसँग अहिले राष्ट्रिय सभामा १६ सांसद छन् । त्यसमध्ये ३ सदस्य बिदा हुँदै छन् । माओवादीले ६ सिटमा जित्ने निश्चित भएकाले राष्ट्रपतिबाट मनोनित एकसहित माओवादी १९ सिटसहित ठूलो दल बन्नेछ । दोश्रो दल नेपाली कांग्रेस बन्दैछ ।

यो कांग्रेसकै लागि पनि सकारात्मक पक्ष हो । किनभने कम्युनिष्ट एकता भएपछि बनेको नेकपाको पेलानमा परेको कांग्रेस १० सिटमा खुम्चिएको थियो । अहिले तिनै कम्युनिष्ट छिन्नभिन्न हुँदाको फाइदा उठाएको कांग्रेस अब १६ सिटमा छलाङ मार्दैछ । उही कांग्रेस हरुवा नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दाउमै छ । त्यो पनि प्रचण्डकै सहमतिमा । प्रतिनिधिसभामा पहिलो दललले तेश्रो दललाई प्रधानमन्त्री छाडेजस्तो राष्ट्रिय सभामा पनि पहिलो दलले दोश्रो दललाई अध्यक्ष छोड्दैछ ।

एमालेबाट विद्रोह गरेदेखि केपी ओलीलाई तह लगाउने ठूलो संकल्प गरेका माधव नेपालको धोको पूरा भएको हुनुपर्छ । आम निर्वाचनमा त्यो धोको पूरा नभए पनि राष्ट्रिय सभामा एकीकृत समाजवादीकै साइजमा एमाले आउँदैछ । अहिले मनोनीतसहित एमालेको १८ सिट छ । त्यसमध्ये ९ सांसद बिदा हुँदैछन् । एमालेको पोजिसन अब ९ सिटको हुनेछ ।

२०७८ सालसम्म एमालेका ३१ सांसद थिए । तर माधव नेपाल छुट्टिएपछि सात सांसद उतै गए । अहिले एकीकृत समाजवादीसँग ८ सांसद छन् । २ सांसद बिदा हुँदा गठबनधनले २ सिट नै दिएकाले ८ सिटमै सीमित बन्नेछ । त्यसमा पनि बामदेव गौतम आफ्नै अभियानमा देखिए पनि स्वतन्त्रकै अवस्थामा छन् । उनको झुकाव माधव नेपालतिर देखिए एमाले र एकीकृत समाजवादीको हैसियत बराबर हुनेछ । अर्थात तेस्रो शक्तिका लागि एमाले र एकीकृत समाजवादीबीच भने तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । एमालेको खस्किँदो साखमा सबैभन्दा खुशी माधव नेपाल नै होलान् ।

निर्वाचनपछि जसपा ३, लोसपा १, राजमोसँग २ सिट रहने छ । राजमोसँग अहिले १ सिट छ । अर्को एक सिटमा राष्ट्रपतिबाट मनोनीत भएर राजमोकै उपाध्यक्ष दुर्गा पौडेल आउँदैछिन् ।

खासै चहलपहल नदेखिने भएपनि कवाडीखाना बन्न थालेको टिप्पणी हुने राष्ट्रिय सभालाई निकम्मा बनाउन दलहरु नै लागेका छन् । किनभने अहिले उम्मेदवार बनेका अधिकांश व्यक्ति राष्ट्रिय सभामा छिर्नु संविधानको मर्म विपरीत् छ । सबै उम्मेदवार विज्ञताका आधारमा भन्दा आसेपासे र हरुवाहरुको भर्तीकेन्द्र बनाइएको छ । राष्ट्रिय सभाको धुमिलिंदो साखप्रति विज्ञहरु चिन्ता व्यक्त गर्छन् ।

गठबन्धनले उम्मेदवार बनाएका कृष्ण सिटौला, दुर्गा पौडेल, आनन्दप्रसाद ढुंगाना, चम्पादेवी कार्की, रेणु चन्द, पूजा चौधरीलगायत पात्र राष्ट्रिय सभा छिर्दैमा उधुम केही हुनेवाला छैन । राष्ट्रिय सभामा कुन दल प्रथम वा दोस्रो बन्ने भन्ने कुराले तात्विक फरक पर्दैन ।