Breaking

प्रचण्डको कडा रूप, मन्त्रीहरू लपेट्दै, माधव र देउवाका मन्त्री निशानामा, प्रधानमन्त्री फेर्दै शेखर

मन्त्रीको जाँच लिँदै प्रधानमन्त्री


काठमाडौँ – पार्टी नेतृत्वसँग हार गुहार गरेर मन्त्री बनेकाहरू अहिले चौतर्फी दबाबमा छन् । भिजन भन्दापनि सानका लागि मन्त्रीको कुर्सीमा विराजमान भएकाहरू अहिले काम गर्न नसक्दा पार्टी, जनता र प्रधानमन्त्रीको दवाव झेलिरहेका छन् ।
नयाँ मन्त्री मण्डल गठन वा मन्त्रिपरिषद् विस्तार हुँदा मन्त्री बन्न पाउँ भन्दै पार्टी नेतृत्वमा ज्यू–हजुर गर्नेको लावालस्कर लामै हुन्छ । तर, नेतृत्वको आशीर्वादमा मन्त्री बन्न सफल भएकाहरुको कार्यसम्पादन सन्तोषजनक छैन । सेवा भावले भन्दा पनि राज गर्ने उद्देश्यले राजनीतिमा लागेर मन्त्री बनेकाहरूको कामबाट अहिले न त जनता खुशी छन्, न नै तिनैलाई मन्त्री बन्न सिफारिस गर्ने पार्टीपंक्ति नै । यहाँसम्म कि स्वयम् प्रधानमन्त्री नै पनि आफ्ना मन्त्रीहरूको कामबाट सन्तुष्ट छैनन् । त्यसैले प्रधानमन्त्रीले पुष पाँच देखि १० गतेसम्म काठमाडौं नछोड्न भन्दै मन्त्रीलाई आफूले गरेका सम्पूर्ण कामको कार्य प्रगतिको रिपोर्ट कार्ड मागेका छन् ।

प्रधानमन्त्रीको असन्तुष्टि सोमबार सिंहदरबारस्थित ‘एक्सन रुम’मा देखियो । अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण कार्य ढिला सुस्ती भएको भन्दै सम्बन्धित मन्त्री र सचिवसँग झोक्किए । प्रधानमन्त्रीको प्रतिक्रियाबाट रुष्ट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भने आफूले गर्व गर्न लायक काम गरेको दावी गर्नै भ्याए । काठमाडौँ उपत्यकाको सडकले नै नेपालभरको नेतृत्व गर्ने भ्रम पालेरै उनी मन्त्री को कुर्सीमा छन् ।



जनताले महसुस गर्नेगरी कामको प्रगति हुन नसकेको प्रधानमन्त्रीले नै स्वीकारिरहँदा सत्ता सहयात्री पार्टीपंक्ति पनि सरकारको कायैशैलीले हैरान छन् । संसदकै ठूलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा त सुरुवातदेखि नै सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।सरकारका कामको समीक्षा गर्न पुस १२ गते कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नै बस्दैछ । एकीकृत समाजवादीले पनि सरकरको कामको समीक्षा गरिनै रहेको छ । आफ्नो भाग खोसेर मन्त्री बन्दा त्यसै रुष्ट भएका पार्टीकै नेताहरूलाई काम नगर्ने मन्त्रीहरुका कारण आलोचना गर्ने मुद्दा मिलेको छ । आफ्ना मन्त्रीको रिपोर्ट कार्ड मागका प्रचण्डलाई नै संसदीय व्यवस्थामा मन्त्रीले गरेका राम्रा वा नराम्रा सबैको जिम्मा कार्यकारीले नै लिनुपर्ने गठबन्धनका नेता बताईरहेका छन् । आफ्नै पार्टी सरकारमा हुँदा पनि नागरिक निराश हुनु परेको भन्दै कांग्रेसको इतर पक्षले त सबैभन्दा पहिले प्रधानमन्त्रीले रिपोर्ट कार्ड देखाउनुपर्ने बताइरहेको छ ।

प्रधानमन्त्री बनेलगत्तै प्रचण्डले प्रत्येक महिना रिपोर्ट कार्ड बोकेर संसदमा आउने बताएका थिए । तीनै प्रधानमन्त्री प्रचण्ड अहिले आफै नानाथरी काण्डमा अल्झििँदा सत्ता गठबन्धनबाटै प्रधानमन्त्रीमाथि प्रश्न उठिरहेको छ । मन्त्री बन्नका लागि दौडधुप गर्नेहरूलाई एकपनि काम गरेको गतिलो प्रमाण दिनसक्ने सार्मथ्य छैन । देश र जनताको नाममा शपथ खाएकाहरू मञ्च पाउँदा पनि आफ्नो प्रस्तुति दिन सकिरहेका छैनन् । कामको प्रचार गर्नु त परकै कुरा ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने जस्तै मन्त्रीले चाहने हो भने पाँच मिनेटमा नै आफ्नो काम देखाउँन सक्छन् । तर उनीहरूमा त्यसप्रति खासै लगाव छैन । पदका लागि राजनीति गरेकाले कुर्सीमा मात्रै ध्यान हुँदा जनसरोकारको विषयमा काम गर्न पनि नसक्ने जनाकार बताउँछन् ।

जनताको दबाब प्रधानमन्त्रीलाई, प्रधानमन्त्री र पार्टीको दवाव मन्त्रीहरूलाई । बेकामे मन्त्रीहरु चारै तिरबाट दबाबमा छन् । नागरिकको सेवा गर्न नै राजनीतिमा होमिएकाहरूलाई मन्त्री बन्दै गर्दा चुनौती र अवसर दुवै हुने गर्छ । तर, चुनौतीलाई चिर्दै मिलेको अवसरमा खडा उत्रन सक्ने हो भने जस्तो सुकै दबाबलाई पनि सहजै सामना गर्न सकिन्छ । यसबारे हाम्रा मन्त्रीहरुले कहिले सोच्ने ?