काठमाडौँ – जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको पनि महिना दिन पुग्न लागिसक्यो । सयौँको ज्यान जाने गरी गएको भूकम्पपछि सरकारले उद्धार कार्यमा तदारूकता देखाए पनि राहत र पुनस्र्थापना भने प्रभावकारी ढंगले हुन सकेको छैन । भूकम्पपीडित पीडामाथि पीडा थोपरेर समय कटाइरहेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको थाहा पाउना साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर चढेर प्रभावित क्षेत्र पुगेपछि उद्धार कार्य प्रभावकारी रुपमा भयो । भूकम्पको पीडामा रहेका नागरिकले राहतको महसुस गरे । राष्ट्रपतिदेखि सांसद, नेतासम्मको लर्को प्रभावित क्षेत्रमा लाग्यो । पीडित जनतालाई आश्वासनको पोको बाँडेर उनीहरू फर्किए । राहत र पुनस्र्थापनाको काम पनि सेलायो । भूकम्पबाट बाँचेका १० जनाको चिसोकै कारण मृत्यु भयो । राहत र पुनस्र्थापनाको काम द्रुत गतिमा भएको भए भूकम्पपीडितले चिसोकै कारण ज्यान गुमाउनुपर्ने थिएन ।
बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाहरू खुला आकाशमुनि रात कटाउन बाध्य छन् । सरकारले अस्थायी बसोबासका लागि प्रत्येक परिवारलाई ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि हालसम्म पीडितले पाएका छैनन् । सरकारी अधिकारी उद्धारका साथै राहत र पुनस्र्थापनाको काम प्रभावकारी ढंगले भइरहेको दाबी गर्छन । प्रमुख सत्तारुढ दल कांग्रेसले भूकम्पपीडितलाई थप राहत दिने विषयमा दोस्रो चरणमा छलफल चलाएको छ । कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रूपैयाँ जिल्ला तहमा पुग्ने दाबी गर्छन ।
भूकम्प गएको महिना दिन पुग्न लाग्दासमेत ओत लाग्ने अस्थायी टहरासमेत बन्न सकेको छैन । करोडौंको आलिशान महलमा लाखौँको बेडमा सुत्ने नेताहरूलाई खुला आकाशमुनि बस्नुपर्दाको पीडा के थाहा ? एकसरो ओड्ने कपडा नभएकै कारण चीसोले ज्यान गएको पीडा कसरी बुझ्नु ? त्यसैले मन्त्रीहरू भन्दै छन्–राहत वितरणमा कुनै पनि ढिलासुस्ती भएको छैन ।
राहत कोषमा सहयोगको पैसा थुप्रिएको छ । भूकम्पपीडितले आवश्यक राहत पाउन सकेका छैनन् । महिनौ दिन हुन लाग्दासमेत नागरिकलाई सुरक्षित राख्न नसक्नु लज्जाको विषय हो । राज्य सत्ताको बागडोर सम्हालिरहेका प्रधानमन्त्री प्रचण्ड भूकम्पपीडितको ज्यान भन्दा आफ्नै सत्ताको कुर्सी जोगाउन भगिरथ प्रयासमा छन् ।
जनताको आवाज बोल्नुपर्ने प्रमुख प्रतिपक्ष पनि सडकमा मुडेबल प्रदर्शनको तयारीमा छ । जनतालाई पीडादायी व्यवस्थाबाट मुक्त गरेर सुखको अनुभूति गराउने अधुरो सपना देखाइरहेका राजावादीहरू गाउँ-गाउँबाट मानिस जम्मा गरेर भोजभतेर लगाइरहेका छन् । तर, जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरू पीडामाथि पीडा थोपरेर बस्न बाध्य छन् ।
प्रतिक्रिया