काठमाडौँ — नेपाली काँग्रेसभित्र चर्किएको द्वन्द्व सहजै समाधान हुने अवस्थामा छैन ।सभापतिविरुद्धै महामन्त्री उभिएपछि विवाद बढ्दो छ । झन गुट फेरबदलको सम्भावना देखिएपछि काँग्रेसभित्रको विवादलाई नयाँ ढंगले विश्लेषण गर्न थालिएको छ । नेपाली काँग्रेसभित्र अहिले व्यापक चर्चा छ, शेरबहादुर र शेखर मिलिसके । १४औं महाधिवेशनमा सभापतिका लागि भिडेका यी नेताहरु आगामी महाधिवेशनसम्मको योजनामा सहमति गर्दै मिलेपछि इतर समूहमा संघर्ष गर्दै आएका नेताहरु भने सशंकित बनेका छन् ।
देउवाकै बलमा शेखर सभापति बन्ने खबर सार्वजनिक भएपछि आगामी नेतृत्वकै रुपमा हेरिएका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको निद्रा हराम भएको छ । यता देउवासँगै संस्थापन समूहमा रहेका पूर्णबहादुर खड्का लगायतका नेताहरु पनि झस्किन थालेका छन् । गगनले सभापति देउवाले पार्टी र सम्भावित सरकारको नेतृत्वबाट पनि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।अर्थात् सजिलो ढंगबाट देउवाले पार्टीको नेतृत्व र आउँदै गरेको प्रधानमन्त्री बन्ने अवसर पनि छोड्नुपर्ने बताएका छन् । नत्र काँग्रेसभित्र देउवाविरुद्ध विद्रोह गर्ने चेतावनी गगनको छ ।
तर गगनविरुद्ध काउन्टर अट्याक गरिरहेका नेताहरुले महाधिवेशनमै निर्वाचित भएर आएको सभापतिलाई मार्गप्रशस्तको विकल्प दिनु जायज नभएको बताएका छन् । सभापति देउवा र नेता शेखर कोइरालाबीच बढ्दै गएको निकटता हिजोआज पार्टीका सार्वजनिक मञ्चहरुमा पनि देखिन थालेको छ ।एउटै विमानमा चितवन गएका उनीहरु भक्तपुरसम्म सँगै देखिए । शेखरले सिंगापुरको उपचार सकाएर फर्किपछि देउवा पनि उपचारकै लागि सिंगापुर गएका छन् ।यसलाई पनि कतिपय नेताहरुले संयोग नभई शंकाकै रुपमा हेरेका छन् । तर आगामी महाधिवेशनमा देउवालाई सभापति बन्न विधानले दिनेछैन ।
यसर्थ १५ औं महाधिवेशनपछि देउवाको अवकाश हुनेछ । देउवाको उत्तराधिकारी बन्न संस्थापन पक्षबाटै उपसभापति पूर्णबहादुर खड्का तमतयार भएका छन् । तर देउवा क्याम्पमा शेखरको ईन्ट्री भएपछि माहोल थप गञ्जागोल बनेको छ । फलतः नेपाली काँग्रेसभित्र अर्काे कसरत चल्दैछ । देउवा–शेखर एकातिर उभिँदा खड्का र गगन अर्काेतिर उभिने सम्भावना बलियो बन्दै गएको विश्लेषकहरु बताउँछन् ।
महाधिवेशनपछि संस्थापनइतरमा रामचन्द्र पौडेलको ठाउँ लिएपनि शेखरको हैसियत खोज्दामात्रै भेटिन्थ्यो । वरिष्ठ नेताको मागदाबी गरेका उनी २५ नम्बरमा थन्किएका थिए । इतर समूहमा शेखरभन्दा चर्चा गगनकै बढी हुन थाल्यो । कतिसम्म भने, देउवाविरुद्धको गुटलाई शेखर–गगन समूह भन्न थालियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माको सबै समर्थन पाएपछि गुटभित्र गगनको दबदबा बढेको थियो । फलतः संसदीय दलको नेतामा शेखरले सभापति देउवालाई सघाएपछि इतरको एकता भंग हुने समय सुरु भएको थियो । अर्काे महाधिवेशनसम्म के हो के हो भन्ने भएपछि शेखर सशंकित बनेका थिए ।
यता ‘फलाम तात्तिएकै बेला हथौडा हान्ने’ आदत परेका देउवाले इतर समूह भत्काउन शेखर अस्त्र फालिदिए । परिणामतः इतर समूह अहिले एक छैन । त्यसका लागि शेखरलाई आगामी सभापति र अहिले वरिष्ठ नेता बनाउने तयारीमा देउवा रहेको चर्चा चलेको छ । तर यसले देउवा समूह पनि एक रहनेछैन । देउवापछि सभापतिको आकांक्षा गरेका पूर्णबहादुर र शेखरबाट धोका खाएका गगनबीच तालमेलको सम्भावना बलियो छ । जसले काँग्रेसलाई नयाँ गुट राजनीतिमा लैजाने पक्का देखिन्छ ।
प्रतिक्रिया