Breaking

विचारको बहसले विवादमा रास्वपा, नेतैपिच्छे फरक सिद्धान्त, सबैलाई मिलाउन रवि लामिछानेलाई हम्मेहम्मे 


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते स्थापनाको एक वर्ष पूरा गर्दै छ । एक वर्षसम्म आफ्नो वैचारिक सिद्धान्त तय गर्न नसकेको रास्वपामा बल्ल विचार बारे बहस सुरु भएको छ । तर, त्यही विचारको बहसले गर्दा पार्टी चिरा पर्ने खतार बढ्दै गएको छ । उपनिर्वाचन जितिसकेपछि संगठन विस्तारलाई नै आफ्नो अभियान बनाएको रास्वपा अहिले पार्टीको वैचारिक दस्तावेज तयार पार्न जुटेको छ ।

प्रतिपक्षको एजेण्डा पनि नेकपा एमालेले नै बोकेपछि रास्वपा विचार र सिद्धान्त औल्याउनतर्फ अघि बढेको हो । रास्वपाले ‘नयाँ युगको संकल्प’ भन्दै ६८ पृष्ठको लामो प्रारम्भिक प्रस्तावित राजनीतिक दस्तावेज सार्वजनिक गरेसँगै पार्टीभित्र यसबारे छलफल सुरु भएको छ । विचार भएन, सिद्धान्त भएन भन्ने आलोचनाबाट थाकेपछि आफ्नो मार्ग पहिल्याउन पहिलो दस्तावेज ल्याउन लागेको रास्वपा विभाजनको उल्झनमा छ ।

दश वर्षसम्म दलको सदस्य नभएको राष्ट्रपति र उपराष्ट्रपति खारेजीको प्रस्ताव पार्टीको छ । वैचारिक प्रष्टता नभएको आरोप खेप्दै आएको रास्वपाको प्रस्तावनामा संवैधानिक समाजवादलाई पार्टीको विचारधारमा प्रस्तुत गरिएको छ । वर्तमान शासकीय स्वरूपमा पनि परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्ने प्रस्ताव सो दस्तावेजले गरेको छ भने, प्रदेशलाई खारेज गर्दै प्रदेश गभर्नर कायम गर्ने दस्तावेजमा उल्लेख छ । तर, पार्टीका अन्य नेता भने यसमा असन्तुष्ट छन् ।

पार्टी स्थापनाको अवसर पारेर असार७ मा दस्तावेज पास गर्ने तयारीमारहेको रास्वपा पार्टीका सदस्यहरूको विरोधपछि हाललाई स्थगित गर्ने तरखरमा रहेको बुझिन्छ । स्थापना दिवस आउन एक साताभन्दा कम समय बाँकी रहँदा फरक विचार र सिद्धान्तबाट आएका नेताबीचको बिमतीले तत्कालका लागि केही दिन पर सारिएता पनि पार्टीभित्रको वैचारिक विवाद भने दीर्घकालसम्म टारिँदैन । विकल्प भनेर आएका दललाई नै विचार, सिद्धान्त,नीति केही नभएको पार्टी भनेर आलोचना भईरहँदा त्यही विचारका लागि बहस गर्दा विवाद निम्तिने देखिन्छ ।

उपचुनावको परिणामपछि नागरिक तहमा मात्र होइन पुराना पार्टीको कार्यकर्ता पंक्तिमा समेत रास्वपाले तरंग सिर्जना गरेको छ।युवा पंक्तिलाई राजनीतिमा आकर्षित गरेको रास्वपाले अवसरको लोभ जगाएको छ । कांग्रेस, एमालेजस्ता पुराना दलका संगठनमा नअटेको, उब्रिएका र असन्तुष्ट कतिपय नेता–कार्यकर्ता विस्तारै रास्वपातिर आकर्षित हुन थालेको देखिन्छ।

पार्टीले आफ्ना सैद्धान्तिक मान्यता सार्वजनिक गर्ने र छलफल चलाउने प्रयत्न गर्नुलाई सकारात्मक कदम मान्न सकिन्छ । तर, यसरी विभिन्न पार्टीका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै राजनीतिक यात्रा थालनी गरेका नेतालाई एकै सूत्रमा बाध्न कठिनाई हुने घटनाक्रमले देखाउने स्थिति सिर्जना हुने देखिन्छ ।