Breaking

जनजातिलाई फुटाएर देशलाई कुनै हित हुँदैनः प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले जनजातिलाई फुटाएर देशलाई कुनै हित नहुने भन्दै तथ्यांकमा भएको कमजोरी सच्याउन सरकार तयार रहेको बताएका छन् । उनले सरकारबाट नियतवश त्यस्तो कमजोरी नभएको समेत बताए ।

काठमाडौंको खुलामञ्चमा शुक्रबार मगर समुदायको भूमे पर्वका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘देशलाई, जनजातिलाई वा कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन, यसमा सरकारको कुनै नियत पनि छैन, हामी प्रस्ट छौं ।’

उनले पछाडि परेका जातजाति, वर्ग समुदायको संघर्ष र बलिदानीबाटै नेपालमा लोकतन्त्र प्राप्तिसम्मका आन्दोलन सफल भएको भन्दै ती समुदायको अहित हुने गरी सरकारले कुनै पनि काम नगर्ने बताए । प्रधानमन्त्री दाहालले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय मातहतमै रहेको भए पनि आफूलाई जनजातिका जातजातिहरूलाई अलग गरेर तथ्यांक संकलन भएकोबारे कुनै जानकारी नभएको बताए ।