Breaking

जुवाको प्रचार गर्दा हिरासतको हावा खाँदै कलाकार, के गरे गल्ती ? अरु को–को छन् पक्राउ पर्ने लाईनमा ?


काठमाडौँ — वानएक्स बेटमा सक्रिय रहेका तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । लामो समयअघिबाट अनलाईन जुवाको प्रचार गर्ने र युवालाई लतमा फसाउन प्रोत्साहित गर्दै आए पनि बल्ल उनीहरु अहिले भने प्रहरीको खोरमा पुगेका हुन । केहि समयदेखि प्रहरीको निगरानीमा रहेका उनीहरुलाई अन्तत प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । जसले एजेन्ट मात्रै पक्राउ गर्दै आएको प्रहरी वृहत रुपमा अघि बढेको प्रष्ट भएको छ भने एक प्रकारको तंरग नै सिर्जना भएको छ ।

अनलाईन वेटिङ अर्थात जुवाको प्रमोसन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे रहेका छन । यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएका प्रहरीले जनाएको छ ।

यसअघि यहि सट्टेवाजीमा संलग्न कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्कालाई वन एक्स वेटको एजेन्टका रुपमा पक्राउ गरेपछि लहरो पहिल्याउदै गएको प्रहरीले कलाकार तथा ‘सोसल इन्फ्लुयन्सर’का रुपमा रहेका उनीहरुलाई प्रक्राउ गरेको हो । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रति यस्तै कलाकार तथा युट्युवरहरुले आकर्षित गर्दै आएका छन । छोटो समयमै घर गाडि किनेको भन्दै आम युवाले उनीहरुलाई सफलताको उदाहरण मान्दै गर्दा यीनीहरु भने कानुनले बर्जित गर्दागर्दै पनि केहि प्रतिशत कमिसनको लोभमा यसको प्रमोसन गर्ने गरेका हुन ।

कानुनत नेपालमा सबैखाले जुवा र सट्टेबाजी प्रतिबन्धित छन भने यस्तो खेल खेल्न खेलाउन र प्रोत्साहन गर्न कानुनी रुपमा बन्देज लगाइएको छ । जहाँ मंसिर १३ गते अनलाइन सट्टेबाजी गराउने सबैखाले एपलाई सरकारले नेपालमा प्रतिबन्ध लगाएको थियो । तर भ्युजको पैसामात्रल नपुगेर अन्य स्रोत समेत खोज्दै आएका यस्ता युट्युवटरलाई यो कम्पनीले प्रयोग गर्दै आएको लामै समय भईसकेको छ । जहाँ २००७ मा साईप्रस केन्द्र बनाएर स्थापना भएको अनलाइन जुवा खेलाउने यो कम्पनी अनलाइन जुवाको धन्दालाई विश्वव्यापी बनाउँदै लगेको छ ।

यसका लागि युवाहरुलाई प्रयोग गर्दै आएको उसले युट्वरहरुले आफ्नो कन्टेटमा वोलिदिएपछि कमिसन दिने गरेको छ । फलत ः युट्वरहरुले पनि आफ्नो कोड प्रयोग गरेर घरै बसिबसि पैसा कमाउनुहोस भन्दै आफ्ना दर्शकलाई यसतर्फ आकर्षित गर्दै आएका छन ।

अहिले पक्राउ परेका वाहेक पनि धेरै कलाकार र युट्युवटरहरु जाने नजानेर यसको मतियार बन्दै आएका छन । मोटोभ्लग राजकुमार थापामगर गर्ने देखि डेली भ्लग गर्ने प्रिदेव जोशी जस्ता लाखौको संख्यामा फलोर भएकाहरु समेत यसमा संलग्न रहँदै आएका छन । सुरुआती समयमा जलान, मिङसेराप जस्ता युट्युबर र टिकटकरहरूबाट विज्ञापन गरिरहेको यो कम्पनीले पछिल्लो समय ठुला भनिएका कलाकारलाई पनि प्रयोग गर्न थालेको छ । उनीहरुले दिएको प्रोमो कोड राखेर प्रयोगकर्ताले रजिस्टर गरे भने उनीहरूलाई त्यो कार्यमा सरिक भइन्जेल कमिसन आइरहन्छ ।

यहि लोभमा परेका उनीहरुले विस्तारै नेटवर्क निर्माणमा साथ दिदाँ मिडियाहरुले समेत यस बारे खवदारी गरेका थिए । नेपाली युवा अनलाईन जुवाको लतमा फस्दै गएको र करौडाँै रुपैया अवैध रुपमा देश बाहिर गईरहेको भन्दै सामाग्रीहरु छापिएपनि सरकार भने यस विषयमा मौन रहँदै आएको थियो । यद्यपी प्रहरीले वेलावेला यस्ता कार्यमा संलग्न केहि एजेन्टहरुलाई पनि पक्राउ गर्दै आएको थियो ।

सट्टेबाजी एक प्रकारको जुवानै हो भने एकपछि अर्को गर्दै युट्युब च्यानलमा बढिरहेको ‘वान् एक्स बेट’ कम्पनीको विज्ञापनले नेपालमा बजार बढिरहेको प्रष्ट छ । जहाँ विज्ञापन (नियमन गर्ने) ऐन, २०७६को परिच्छेद–१ को ५ नम्बर बुँदाको एक नम्बरको ग मा जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न वा किनाउने विषयमा विज्ञापन गर्न नपाई प्रष्ट व्यवस्था छ ।

तर पैसाकै लागि राष्ट्रका गहना भनिने कलाकार देखि युट्युवटरसम्मले कानुनविपरितको काम गदै आएका थिए । जसलाई प्रहरीको पछिल्लो कदमले झस्का दिएको छ भने यहि लाईनमा रहेका अरुको पनि विस्तारै कारबाहीको घेरामा आउने आशा बढेको छ ।