Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

दुर्गम भेगका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउनु मेरो प्राथमिकता : अध्यक्ष शेर्पा


काठमाडौँ – खिजीदेम्बा गाउँपालिका-९ दोराखर्कमा रहेको जनता आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पेम्बा शेर्पा पुनः चयन हुनु भएको छ । आइतबार बसेको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शेर्पालाई पुनः चयन गरेको हो ।
अध्यक्ष शेर्पाले अघिल्लो कार्यकालमा दुर्गम गाउँका बालबालिकाको भविष्य उज्ज्वल बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेकाले पुनः अध्यक्षमा चयन गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष कामी शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाले एसेन्ट एड नेपालको २२ लाख सहयोगमा विद्यालयमा बालबालिका पार्क निर्माण गर्नुभएको थियो । यो जिल्लाकै पहिलो पार्क भएको शिक्षा समिति सदस्य ङवाङ च्याम्बा शेर्पाले बताउनु भयो ।

२०४६ सालमा स्थापना भएको जनता आधारभुत विद्यालय २०७२ को भूकम्पपछि विद्यालयको अध्यक्षको जिम्मेवारी शेर्पाले सम्हाल्दै आउनु भएको छ । विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुने गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । शेर्पाले दुर्गम गाउँका बालबालिकाको भविष्य उज्ज्वल बनाउन आफुले जिम्मेवारी लिएको बताउनु भयो ।

शेर्पाले परिवारमा समस्या भएकै कारण पढ्न नपाउँदा भोग्नु परेको दुःखलाई सम्झिएर अरु बालबालिकाले दुःख भोकनु नपरोस भन्ने उद्देश्यले विद्यालय व्यवस्थापनको जिम्मेवारी लिएको बताउनु भयो ।

शेर्पा समुदायका विद्यार्थीको बाहुल्यता रहेको यस विद्यालयमा शेर्पाले संस्कृतिको जगेर्ना गर्ने उदेश्यले हप्ताको दुई दिन विद्यार्थीहरूले शेर्पाको पोशाक लगाएर विद्यालय आउने व्यवस्थासमेत मिलाइएको छ । विद्यार्थी र सबै कर्मचारीहरूको दिवा खानाको व्यवस्था विद्यालयले नै गरेको छ ।

पर्यटन व्यवसायीसमेत रहनुभएका शेर्पाले एडभेन्चर एसेन्ट प्रालि एजेन्सी सञ्चालन गर्दै आउनुभएको छ । उहाँका अनुसार आर्थिक रुपमा केही वर्ष आफैले विद्यालयलाई सहयोग गर्दै आए पनि पछि एक्लैले गर्न असम्भव भएकोले एसेन्ट एड नेपाल गैरसरकारी संस्था दर्ता गरी हाल त्यस संस्था मातहत विद्यालय सञ्चालन गरिएको छ ।

करिब ६ वर्षदेखि विद्यालयलाई ५ कक्षाबाट निम्न माध्यामिकमा अपग्रेड गरी कक्षा ८ सम्म सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । विद्यालयको भवन भूकम्पले भत्काएपछि शेर्पाका परिवारबाट विद्यालयका लागि ५४ रोपनी जग्गा निःशुल्क प्रदान गरिएको थियो । सोही जग्गामा विद्यालय भवन निर्माण गरिएको छ । २० लाख लागतमा खेल मैदानसमेत निर्माण गरिएको शेर्पाले जानकारी दिनुभयो ।

सरकारी दरबन्दीमा ३, काज र अनुदानमा एक/एक जना र पाँच जना शिक्षक निजी स्रोतबाट राखिएको छ । एकजना भान्से पनि निजी स्रोतमै राखिएको छ । विद्यालय क्षेत्रभित्रै ३ वटा टनेलमा तरकारी खेती गरिएको छ । तरकारी किन्नु नपर्दा विद्यालयको खर्च घटेको शेर्पाले बताउनुभयो ।

आगामी दिनमा विद्यालयका विद्यार्थीसहित स्थानीय बासिन्दालाई समेत अग्र्यानिक तरकारी खेती तालिम केन्द्र नै सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।