देश

राजापुरका ८ सय घर डुबानमाः सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित


काठमाडौँ— अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन् । स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ ।

अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले बताए । कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको बताउनु भयो ।

त्यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमवार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घरहरु डुबानमा परेको बताउनु भयो । उहाँले नदीमा पानीको बहाव बढीरहेकाले झनै समस्या थपिएको गुनासो गर्नुभयो । अन्य स्थानीहरु भने अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित छन् । गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने स्थानीयहरु बताउँछन् । उनीहरु गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको बताउँछन् ।

अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लाहरुमा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ । गत ५ दिन यता भइरहेको भीषण वर्षाले देशभरका पहाडी जिल्लाहरुमा पनि पहिरोको जोखिम बढाएको छ । खहरे खोलामा आएको बाढी र विभिन्न स्थानमा गइरहेको पहिरोका कारण सवारी आवतजावतमा पनि समस्या भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले शतर्कता अपनाउन आग्रह गरेको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन आग्रह गरेको छ ।